बेर्न। गैरआवासीय नेपाली संघ स्विट्जरल्याण्डको आयोजनामा ११६औं अन्तर्राष्ट्रिय महिला दिवस २०२६ शनिवार बर्नमा विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ।
कार्यक्रमको अध्यक्षता एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष विष्णु प्रसाद थापाले गरेको थियो भने प्रमुख अतिथिका रूपमा ज्योति रिजाल सुवेदी र विशेष अतिथिका रूपमा सुस्मिता मास्के निरौला सहभागी भएकी थिइन।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्योति रिजाल सुवेदीले महिलाको आत्मविश्वास, नेतृत्व क्षमता र समाज विकासमा महिलाको भूमिकाबारे प्रकाश पारेकी थिइन। विशेष अतिथि सुस्मिता मास्के निरौलाले “My Mountain Within: Survival to Summit” शीर्षकमा आफ्नो जीवनका संघर्ष र सफलताका अनुभवहरू प्रस्तुत गरेकी थिइन।
यस अवसरमा आईसीसी सदस्य शुभा एल्मर लामाले महिला अधिकार, नेतृत्व विकास तथा समुदायमा महिलाको सक्रिय सहभागिताबारे आफ्ना विचार व्यक्त गरेकी थिइन।
एनआरएनए स्विट्जरल्याण्डले नेपालमा सञ्चालन गरिरहेको तालिम परियोजनाबारे पनि संक्षिप्त जानकारी प्रस्तुत गरिएको थियो।
साथै रश्मि पुनको नृत्य, प्रकाश गुरुङको गायन तथा जेन डेनिस जाक्वेटको बाँसुरी वादनले कार्यक्रमलाई थप रोचक बनाएको थियो।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि र विशेष अतिथिलाई पुष्पगुच्छा प्रदान गरी सम्मान गरिएको थियो भने उपस्थित महिला अतिथिहरूलाई गुलाब फूल वितरण गरिएको थियो। अध्यक्ष विष्णु प्रसाद थापाले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेको थियो।
कार्यक्रमको सञ्चालन एनआरएनए स्विट्जरल्याण्डका सचिव यम कौचा मगर र महिला संयोजक बन्दना प्रजापतिले गरेको थियो।









