बेर्न। स्विट्जरल्याण्डको बेर्नबाट नेपाली परिकारको अनलाइन सप सञ्चालनमा आएको छ। केही महिना अघिदेखि सञ्चालनमा रहेको उक्त सपलाई बिनिता सुनार र विश्वास गहतराज संयुक्त रूपमा सञ्चालन गर्दै आएका छन्। विदेशमा रहेका नेपाली समुदायलाई आफ्नै देशको स्वादसँग जोड्ने उद्देश्यले यो व्यवसाय सुरु गरिएको सञ्चालकद्वयले बताएका छन्।
सञ्चालकका अनुसार स्विट्जरल्याण्डमा बसोबास गर्ने नेपालीहरूलाई गुणस्तरीय तथा मौलिक नेपाली परिकार सहज रूपमा उपलब्ध गराउने लक्ष्यसहित यो पहल थालिएको हो। विशेषगरी नेपालमै उत्पादन तथा तयारी गरिएका परिकारहरूलाई प्राथमिकता दिँदै सेवा प्रदान गरिएको उनीहरूको भनाइ छ। यसबाट विदेशमा रहेका नेपालीहरूले आफ्नै देशको परम्परागत स्वाद अनुभव गर्न सक्ने विश्वास लिइएको छ।
स्विट्जरल्याण्डमा आयोजना हुने विभिन्न नेपाली कार्यक्रमहरूमा कार्यक्रम स्थलमै स्टल राखेर नेपाली परिकार बिक्री गर्दै आइरहेको सञ्चालकद्वयले जानकारी दिएका छन्। नेपाली समुदायबाट उत्साहजनक साथ र सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उनीहरूले बताएका छन्।
त्यसैगरी, स्विट्जरल्याण्डभित्र बसोबास गर्ने नेपालीहरूले अनलाइनमार्फत www.himalayanagrotrade.com मा अर्डर गरी नेपाली परिकारहरू खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ। डिजिटल माध्यमबाट अर्डर लिने र आवश्यक स्थानसम्म परिकार उपलब्ध गराउने प्रणाली विकास गरिएको सञ्चालकले जनाएका छन्। यसले व्यस्त जीवनशैलीमा रहेका नेपालीहरूलाई अझ सहज रूपमा सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
विदेशी भूमिमा बसेर पनि नेपाली मौलिक स्वादको अनुभूति दिलाउने लक्ष्यसहित सुरु गरिएको यो अनलाइन सप नेपाली समुदायका लागि उपयोगी बन्दै गएको छ। आगामी दिनमा सेवा अझ प्रभावकारी बनाउँदै स्विट्जरल्याण्डका विभिन्न शहरहरूमा विस्तार गर्ने योजना रहेको सञ्चालकद्वयले बताएका छन्। साथै, भविष्यमा नेपाली उत्पादनहरूको थप विस्तार गर्दै अझ विविध परिकार उपलब्ध गराउने तयारीसमेत रहेको जनाइएको छ।




