राष्ट्रिय प्रेस क्लबकाे कार्यक्रममा काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार इन्द्र कुमार भुसालले आफ्नो औपचारिक प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार रहेका भुसालले पत्रकार तथा सञ्चारकर्मी समक्ष आफ्नो विकास दृष्टिकोण र कार्ययोजना प्रस्तुत गरेका हुन।
पत्रकार सम्मेलनका क्रममा भुसालले सञ्चार क्षेत्रप्रति सम्मान व्यक्त गर्दै लोकतन्त्रको सुदृढीकरणमा सञ्चारकर्मीहरूको भूमिकाको प्रशंसा गरे। उनले काठमाडौं क्षेत्र नं. ४ अनेक सम्भावना बोकेको क्षेत्र भए पनि अव्यवस्थित विकास, तीव्र शहरीकरण, ट्राफिक जाम, खानेपानी अभाव, प्रदूषण, बेरोजगारी तथा भूमिहीन र सुकुम्बासी समस्याले ग्रस्त बनेको उल्लेख गरेका छन्। “जनताले परिवर्तन नारामा होइन, परिणाममा खोजेका छन्,” भन्दै उनले स्पष्ट योजना र कार्यान्वयनमुखी सोचसहित आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्।
उनको विकास दृष्टिकोण १५ मुख्य आधारमा आधारित रहेको छ, जसमा सुशासन, सडक तथा ट्राफिक व्यवस्थापन, हरेक घरमा स्वच्छ खानेपानी, कृषि आधुनिकीकरण, निःशुल्क शिक्षाको कानुनी सुनिश्चितता, सबैको पहुँचमा स्वास्थ्य सेवा, महिला तथा सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरण, युवा तथा खेलकुद पूर्वाधार विस्तार, स्वदेशमै रोजगारी सिर्जना, कला–संस्कृति तथा पर्यटन प्रवर्द्धन, भूमिहीन र गुठी समस्याको दीर्घकालीन समाधान, स्थानीय गौरवका आयोजनाको समयमै सम्पन्नता, ज्येष्ठ नागरिकको सम्मान तथा वन–वातावरण संरक्षण जस्ता विषय समेटिएका छन्। उनले “सीप सिकौं, रोजगार बनौं” अभियान मार्फत युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भुसालले सञ्चारकर्मीहरूलाई आफ्नो एजेण्डा र कार्यसम्पादनको निष्पक्ष मूल्यांकन गर्न आग्रह गर्दै राजनीति टकरावको माध्यम नभई सहकार्यको मञ्च भएको बताएका छन्। उनले क्षेत्र नं. ४ लाई नमुना क्षेत्र बनाउने लक्ष्य सहित सबै राजनीतिक शक्ति, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। पारदर्शी नेतृत्व, स्पष्ट योजना र परिणाममुखी कार्यशैली मार्फत मतदाताको विश्वास जित्ने उनको दाबी छ।



