क्यानडामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्बन्धी नेपाल इभिनिङ’ कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्डले क्यानडाको बजारमा नेपाललाई साहसिक तथा साँस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य सहित नेपाली दूतावाससँग सहकार्य गरी क्यानडाको प्रमुख शहर टोरन्टोमा ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ ।
फेब्रुअरी २० देखि २२ सम्म सञ्‍चालनमा रहेको विश्वप्रसिद्ध आउटडोर एड्भेन्चर सम्बन्धी प्रदर्शनीको पूर्वसन्ध्यामा सम्पन्न ‘नेपाल इभिनिङ’ मार्फत क्यानडाको ट्राभल एण्ड टुर्स व्यवसायीसँग प्रत्यक्ष सञ्जाल विस्तार, व्यापारिक सहकार्य र बजार प्रवर्द्धनलाई प्रमुख प्राथमिकतामा राखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
उक्त नेपाल इभिनिङ’ कार्यक्रममा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य मात्र होइन बरु विश्वका उच्च हिमश्रृंखला, उत्कृष्ट साहसिक गतिविधि, समुन्नत सँस्कृति र आध्यात्मिकताको अद्वितीय संयोजन भएको देश भएकाले क्यानडाका पर्यटकहरुका लागि एक आकर्षित गन्तव्य बन्न सक्ने बताए । राजदूत पौड्यालले सगरमाथा सहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ मध्ये ८ हिमाल नेपालमा रहेको स्मरण गराउँदै ट्रेकिङ, पर्वतारोहण, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ र जंगल सफारी जस्ता गतिविधिले नेपाललाई विश्वस्तरीय साहसिक गन्तव्य बनाएको धारणा राख्नुभयो।

राजदूत पौड्यालले नेपालमा पछिल्ला वर्ष पूर्वाधार, सेवा गुणस्तर र हवाई पहुँचमा सुधार भएको उल्लेख गर्दै क्यानडाका नागरिकका लागि आगमनमा भिसा तथा विद्युतीय यात्रा अनुमति जस्ता सहज व्यवस्थाले भ्रमण प्रक्रिया सरल भएको जानकारी दिए ।

उनले क्यानडाका पर्यटन व्यवसायीलाई नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रसँग सहकार्य बढाउन आह्वान समेत गरेका छन् ।

पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपालको पर्यटकीय विविधता, सुधारिएको पूर्वाधार तथा निजी क्षेत्रको सशक्त संलग्नताबारे प्रस्तुति दिएका थिए ।

बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्माले ‘नेपाल इभिनिङ’ को उद्देश्य नेपाली र क्यानडाली पर्यटन व्यवसायीबीच व्यवसाय–देखि–व्यवसाय ९बीटुबी० सम्बन्ध विस्तार गर्दै दिगो साझेदारी निर्माण गर्नु रहेको बताए ।

बोर्डका अनुसार क्यानडा उत्तर अमेरिकी क्षेत्रबाट नेपाल आउने स्थिर स्रोत बजारका रूपमा छ । वार्षिक रूपमा करिब १५–१६ हजार क्यानडाका पर्यटक नेपाल आउने गरेका छन् । साहसिक पर्यटनप्रति उच्च आकर्षण र बहुआयामिक जनसांख्यिक संरचनाका कारण क्यानडा सम्भावित शीर्ष १० स्रोत बजारमध्ये एक बन्न सक्ने आँकलन गरिएको छ ।

कार्यक्रममा टोरन्टोस्थित ट्राभल एजेन्सी तथा टुर अपरेटर, पर्यटन बोर्डका अधिकारी, नेपाली निजी क्षेत्रका पर्यटन व्यवसायी र दूतावासका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

फाेटाेः पर्यटन बाेर्ड

Previous articleरोटरी क्लबद्वारा तीन दिने आइसिटी (ICT) तालिम कार्यक्रम सम्पन्न
Next article७७ जिल्ला मध्ये ४३ जिल्लामा पुग्यो निर्वाचन सामग्री-निर्वाचन आयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here