रोटरी क्लब अफ डिल्लिबजार, काठमाडौं र रोटरी क्लब अफ काठमाडौंको संयुक्त आयोजना तथा रोटरी अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२९२ को “आधारभूत शिक्षा तथा साक्षरता” विभागको सहयोगमा तीन दिने Information and Communication Technology. (ICT) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
मङ्गलोदय मावि, थानकोटमा आयोजित उक्त तालिम कार्यक्रममा चन्द्रागिरि क्षेत्रका विभिन्न सामुदायिक विद्यालयबाट एक–एक जना शिक्षक सहभागी भई कुल २२ जना शिक्षकलाई प्रशिक्षण प्रदान गरिएको थियो। तालिम फागुन ६, ७ र ८ गते सञ्चालन गरिएको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा रोटरी क्लब अफ डिल्लिबजार( काठमाडौंका पास्ट प्रेसिडेन्ट रो। प्रो। डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो भने समापन समारोहका प्रमुख अतिथि चन्द्रागिरि नगर पालिकाका मेयर श्री घनश्याम गिरी रहनु भएको थियो। दुवै कार्यक्रमको सभापतित्व रोटरी क्लब अफ डिल्लिबजार( काठमाडौंका अध्यक्ष रो. प्रेमकुमार ओलीले गर्नुभएको थियो।
कार्यक्रम संयोजक तथा रोटरी क्लब अफ डिल्लिबजार – काठमाडौंका पास्ट प्रेसिडेन्ट रो. लीलानाथ शर्माले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रममा रोटरी क्लब अफ डिल्लिबजार- काठमाडौंका उपाध्यक्ष रो. दीप्ती सिंह, सचिव रो. सन्ध्या राजभण्डारी तथा रोटरी क्लब अफ काठमाडौंका पास्ट प्रेसिडेन्ट रो. तिर्थराज दाहाल, प्रेसिडेन्ट इलेक्ट रो. प्रो.डा. पुष्पराज शर्मा, प्रेसिडेन्ट नोमिनी रो. केशव ज्ञावाली तथा उपाध्यक्ष रो. प्रन्जुन खड्का र रोटरियन श्रीकृष्ण दाहाल, मङ्गलोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कबिन्द्र गोपाली लगायतको उपस्थिति रहेको थियो।
तालिम कार्यक्रम रोटरियन हरि आचार्यद्वारा सञ्चालन गरिएको थियो। सहभागी शिक्षकहरूले तालिमबाट प्रश्नपत्र निर्माण, परीक्षा मूल्यांकन तथा नतिजा तयारीसम्बन्धी व्यावहारिक सीप हासिल गरेकोमा खुशी व्यक्त गरेका थिए साथै भविष्यमा यस्ता उपयोगी तालिमहरू निरन्तर सञ्चालन गर्न आग्रह समेत गरेका थिए।
समापन समारोहमा प्रमुख अतिथि नगर प्रमुख श्री घनश्याम गिरीले चन्द्रागिरी नगरपालिकाका सबै सामुदायिक विद्यालयमा डिजिटल कक्षा सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो। कार्यक्रमका सभापति प्रेमकुमार ओलीले सहभागी शिक्षकहरूलाई सिकेका ज्ञान तथा सीपलाई अन्य सहकर्मीहरूमा समेत विस्तार गर्न आग्रह गर्दै “ज्ञान बाँड्दा अझ वृद्धि हुन्छ” भन्ने कुरामा जोड दिनुभयो।
कार्यक्रममा विभिन्न वक्ताहरूले आ–आफ्नो मन्तव्य राखेका थिए भने समापन समारोहमा सहभागी शिक्षकहरूलाई प्रमुख अतिथिबाट प्रमाणपत्र वितरण गरिएको थियो।










