होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको छैठौँ साधारणसभा सम्पन्न भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको सुन्दर पर्यटकीय नगरी सुकुटेमा यही माघ १८ र १९ मा उक्त साधारणसभा सम्पन्न भएको हो । सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको सह आयोजनामा सम्पन्न उक्त साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले गर्नु भएको थियो । संघको आयोजनामा सम्पन्न उक्त साधारणसभामा प्रदेशभरिका जिल्ला संघहरुबाट उल्लेख्य मात्रामा प्रतिनिधि र पर्यवेक्षकहरुका उपस्थिति रहेको थियो ।
बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाबाट आएका होटल तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको उक्त साधारणसभामा वर्तमान अवस्थामा सिंगो पर्यटन व्यवसायले नै भोगिरहनु परेका चुनौती, अवसर र सम्भावनाबारे गहन छलफल भएको थियो।
साधारणसभालाई सम्बोधन गर्दै अतिथि वक्ताहरूले नेपाल प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक तथा भौगोलिक विविधताले भरिपूर्ण मुलुक भए पनि पर्यटन क्षेत्रको जुन ढंगले विकास हुनु पर्ने हो, त्यसरी हुन नसकेको उनीहरूले गुनासो गरेका छन् । नेपालको पर्यटन विकासले उचाइ चुम्न नसक्नुमा राज्यका सम्बन्धित निकायहरूको कमजोर व्यवस्थापन, नीतिगत अस्पष्टता, पूर्वाधार विकासको कमी, प्रशासनिक ढिलासुस्ती र सरकारले पर्यटन क्षेत्रको विकासलाइ महत्व नदिनु आदि मुख्य कारणले गर्दा नै पर्यटन उद्योगले गति लिन नसकेको उनीहरूले दाबी गरेका छन् ।

देशमा आइपर्ने हरेक खालका दैवी प्रकोप होस् या अन्य विभिन्न खालका विपदहरूबाट सबैभन्दा बढी प्रभावित क्षेत्र भने कै होटल तथा पर्यटन व्यवसाय हो भन्दै व्यवसायीहरूले वर्तमान अवस्थामा पनि त्यस प्रकारका समस्याहरूले निम्त्याएका असरहरूबाट यो क्षेत्र प्रभावित भइरहेको छ । वर्तमान विषम परिस्थितिमा पनि व्यवसायलाई जोगाइराख्न, राज्यलाई कर तिर्न, रोजगारी सिर्जना गर्न र सेवाको गुणस्तर कायम राख्न व्यवसायीहरू प्रतिबद्ध रहेको जनाइएको छ। साधारणसभामा संघले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिकालाई अझ बढी सशक्त बनाउँदै राज्यका सरोकारवाला निकायहरुसँगको सहकार्यमा व्यवसायिक मर्यादा, गुणस्तर र सेवामा सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ। साथै, युवा जनशक्तिलाई सीपमूलक तालिम मार्फत सक्षम बनाउँदै स्वदेश मै रोजगारीका अवसर सिर्जना गर्न संघले निरन्तर पहल गर्ने प्रतिवद्धता जनाएको छ। त्यसैगरी कार्यक्रमको अन्त्यमा बागमती प्रदेश अन्तर्गत रहेका सबै १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरूको हक हित, प्रवर्द्धन र विकासका लागि संघ एकताबद्ध भएर अघि बढ्ने निर्णय गर्दै संघको छैठौँ साधारणसभा सम्पन्न भएको छ ।
संघका अध्यक्ष दामोदर नेपालको सभापतित्वमा सम्पन्न उक्त साधारणसभाले बिभिन्न प्रतिवेदनहरु समेत पारित गरेको थियो ।

Previous articleस्विट्जरल्याण्डमा २८६२औँ सोनाम ल्होसार भव्य रूपमा सम्पन्न
Next articleमहाशिवरात्रीको अवसरमा बर्नमा नेपाली भेटघाट कार्यक्रम आयोजना हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here