लुजेर्न। तामाङ समाज स्विट्जरल्याण्डको आयोजनामा सर्प वर्षलाई बिदाइ गर्दै घोडा वर्षलाई स्वागत गर्ने अवसरमा २८६२औँ सोनाम ल्होसार धार्मिक तथा सांस्कृतिक विधिअनुसार भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम २४ जनवरी २०२६ शनिबार स्विट्जरल्याण्डको कान्टोन लुजेर्नस्थित रिकेनबाखमा उत्साह पूर्ण वातावरणमा आयोजना गरिएको थियो।
कार्यक्रममा तामाङ समुदायका साथै स्वीस–नेपाली ल्होसार प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विविध सांस्कृतिक परम्परागत पहिरन र आपसी सद्भावले कार्यक्रम स्थल उल्लासमय बनेको थियो।
कार्यक्रमका अवसरमा समाजका अग्रज तथा योगदान कर्ता व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। साथै विभिन्न वक्ताहरूले सोनाम ल्होसारको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे प्रकाश पार्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
विशेष रूपमा शुभा एल्मर लामा सल्लाहकार, दिलीप लामा संरक्षक, दावा पाख्रिन तमाङ सल्लाहकार तथा केरसिङ तमाङ सल्लाहकारहरु ले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै तमाङ समाज स्विट्जरल्यान्डले प्रवासमा पनि भाषा, संस्कृति र पहिचान जगेर्ना गर्न खेलेको भूमिकाको प्रशंसा गरे।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा तामाङ समाज स्विट्जरल्याण्डका अध्यक्ष गोपाल तामाङले खुशी व्यक्त गर्दै भविष्यमा पनि समाज प्रति सबैको निरन्तर साथ, सहयोग र सद्भाव रहने विश्वास व्यक्त गरेको छ।
२८६२औँ सोनाम ल्होसारले स्विट्जरल्याण्डमा बसोबास गर्ने तामाङ समुदाय बीच आपसी एकता, संस्कृति प्रतिको गर्व र नयाँ वर्ष प्रतिको उत्साहलाई थप मजबुत बनाएको आयोजकले बताएका छन्।
सुभास एण्ड द फ्यामिली ब्याण्डको सांगीतिक प्रस्तुतिले दर्शक मन्त्रमुग्ध
सांस्कृतिक कार्यक्रम अन्तर्गत सुभास एण्ड द फ्यामिली ब्याण्डद्वारा प्रस्तुत गरिएको लाईभ सांगीतिक कार्यक्रम उपस्थित दर्शकहरूका लागि अविस्मरणीय बनेको छ। लोकप्रिय कलाकार सुभाष सुन्दास र रामु परियारको दमदार प्रस्तुतीले कार्यक्रम स्थलमा छुट्टै उत्साह र उमङ्ग भरिदिएको थियो।
कार्यक्रममा नेपाली आधुनिक, लोक तथा लोकप्रिय गीतहरूको शानदार प्रस्तुति दिइएको थियो। गीत–संगीतको तालमा दर्शकहरू मन खोलेर नाच्दै रमाएको दृश्यले कार्यक्रमको माहोल अझै रोमाञ्चक बनाएको थियो। सुभाष सुन्दासको सुमधुर स्वर, रामु परियारले लिड गितार, प्रभात नेपालीले ड्रम र अर्जुन गुरुङले बेस गितारको ऊर्जावान प्रस्तुतीले दर्शकहरूको ताली र हुटिङ्ग लगातार गुञ्जिरह्यो।
कार्यक्रममा सहभागीहरूले ब्याण्डको प्रस्तुतीलाई अत्यन्तै उत्कृष्ट भन्दै खुलेर प्रशंसा गरेका थिए। सुभास एण्ड फ्यामिली ब्याण्डले नेपाली संगीतप्रेमीहरूको मन जित्दै सांस्कृतिक कार्यक्रमलाई सफलतापूर्वक उचाइमा पुर्याएको आयोजकले बताएका छन्।
यस प्रकारको स्तरीय प्रस्तुतीले नेपाली सांगीतिक क्षेत्रमा सुभास एण्ड फ्यामिली ब्याण्डको पहिचानलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।
सोनाम ल्होछारमा Himalayan Agro Trade को आकर्षक नेपाली स्टल
स्विट्जरल्याण्डको बर्नस्थित Himalayan Agro Trade ले तामाङ समाज स्विट्जरल्याण्डद्वारा आयोजित २८६२औँ सोनाम ल्होसार समारोहमा नेपाली स्टल राखेर कार्यक्रमलाई थप विशेष बनाएको छ। स्टलमा नेपाली उत्पादन, खाद्य सामग्री तथा हिमाली स्वाद झल्काउने परिकारहरूले सहभागीहरूको ध्यान आकर्षित गरेको थियो।
नेपाली मौलिकता र पहिचानलाई प्रवासमा प्रवर्द्धन गर्ने उद्देश्यले Himalayan Agro Trade ले राखेको स्टलमा धेरै दर्शकहरूको भीड लागेको देखिन्थ्यो। नेपाली स्वाद र संस्कृतिको प्रवर्द्धनमा यस संस्थाले खेलेको भूमिकाको सहभागीहरूले खुलेर प्रशंसा गरेका थिए।
यस प्रकारका कार्यक्रममा सक्रिय सहभागितामार्फत Himalayan Agro Trade, Bern ले नेपाली समुदायलाई नजिक ल्याउनुका साथै नेपालका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म चिनाउन महत्वपूर्ण योगदान पुर्याउने छ।











