जुरीख। जुरीख नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्विट्जरल्याण्डको चौथो महाधिवेशन २०२६ जनवरी १८ तारिख आइतबारका दिन जुरीखमा सम्पन्न भएको छ।
“खेल नै स्वास्थ्यको धन हो” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त महाधिवेशनमा जुरीख तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको उपस्थिति रहेको थियो। कार्यक्रमका लागि औपचारिक सूचना प्रकाशित नगरिए पनि जुरीखमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई आमन्त्रण गरिएको थियो भने स्विट्जरल्याण्ड स्थित विभिन्न नेपाली संघ–संस्थालाई समेत निमन्त्रणा गरिएको थियो। सो अवसरमा आराउ र बासेलबाट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अतिथि आसन ग्रहण गर्दै निवर्तमान अध्यक्ष तथा संस्थापक सदस्य देब राईले स्वागत मन्तव्य दिदै क्लबको स्थापना कालदेखि आफ्नो कार्यकालसम्म अघि सारिएका योजना तथा गतिविधिहरूको विस्तृत जानकारी गराए। साथै, आगामी कार्यसमितिलाई आवश्यक परेमा भौतिक तथा आर्थिक रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, संस्थापक सदस्य अर्जुन बास्ताकोटीले क्लबले स्थापना कालदेखि समाज र खेलकुद क्षेत्रमा पुर्याउँदै आएको योगदानको चर्चा गर्दै विभिन्न चुनौतीहरू पार गर्दै हालको अवस्थामा आइपुगेको बताए। उनले नयाँ बन्ने कार्यसमितिलाई अझ सक्रिय, छिटोछरितो र प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै आवश्यक सहयोग सधैँ रहने प्रतिबद्धता व्यक्त गरे।
बासेल समाजका सदस्य रेशम खत्रीले पनि खेलकुद तथा नेपाली समुदायको हितमा क्लबले गर्दै आएको कार्यको प्रशंसा गर्दै आगामी कार्यसमितिलाई पूर्ण सहयोग रहने विश्वास व्यक्त गरे।
कार्यक्रममा वर्तमान अध्यक्ष लोकेन राना मगरले आफ्नो कार्यकालमा सम्पन्न भएका खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूको विवरण प्रस्तुत गर्दै, आगामी दिनमा कार्यसमितिमा नरहे पनि संरक्षक सदस्यको हैसियतले क्लबलाई आर्थिक तथा भौतिक रूपमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसपछि उनले अध्यक्षको हैसियतले सभा विसर्जन गरे।
साधारण तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमको सञ्चालन निवर्तमान सचिव दिर्घ श्रीस मगरले गरेको थियो भने कार्यक्रमको अध्यक्षता वर्तमान अध्यक्ष लोकेन राना मगरले गरेको थियो।
महाधिवेशनमा सहभागी सम्पूर्ण अतिथिहरूलाई स्वादिष्ट भोजनको व्यवस्था गरिएको थियो। खानाको सम्पूर्ण तयारीमा योगदान पुर्याउने क्लबका सदस्यहरू दलबहादुर पुर्जा मगर र सुरज सेन्चुरीलाई विशेष धन्यवाद दिइयो। साथै, महाधिवेशनको तयारी तथा सफल समापनमा सहयोग पुर्याउने क्लबका सदस्यहरू हेम गुरुङ, बादल बज्राचार्य, केशव लिम्बु लगायत सम्पूर्ण सहयोगीहरूलाई क्लबको तर्फबाट धन्यवाद तथा बधाई ज्ञापन गरिएको थियो।
महाधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि दिर्घ श्रीस मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेको छ। नवगठित कार्यसमितिको नामावली छिट्टै सार्वजनिक गरिने क्लबले जानकारी दिएको छ।




