रोटरी क्लब अफ डिल्लिबजारले आफ्नो नियमित बैठकका क्रममा आगलागीबाट बच्ने र आगलागी भएमा के गर्ने भन्ने बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले बुधबार डिल्लिबजारमा उक्त अन्तरक्रिया गरेको हो । क्लबका अध्यक्ष प्रेम ओलीको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रियात्मक बैठकमा अतिथि वक्ताको रुपमा सम्बोधन गर्दै नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टरका डाक्टर एवं राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान ल्ब्ःक् का प्लाष्टिक सर्जन प्राध्यापक डा.शंकरमान राई तथा अस्पतालका डाइरेक्टर डा. किरण नकर्मीले आगलागीबाट घाइते भएका बिरामीहरुको उपचार विधि र घाइते हुनबाट बच्ने उपायहरुका बारेमा प्रकाश पार्नु भएको थियो ।
अन्तरक्रियामा बोल्दै डा. नकर्मीले आगोले पोलेर घाइते भएमा तुरुन्त गर्न सकिने प्राथमिक उपचारदेखि सघन उपचारसम्मका विधिहरुका बारेमा जानकारी दिनु भएको थियो । जस अन्तर्गत घाइतेलाई सर्वप्रथम सुरक्षित स्थानमा पुर्याउने, आगो निभाउने, लगाएको कपडा तथा धातुजन्य वस्तु खोल्ने, जलन रोक्नका लागि पोलेको स्थानमा आधाघण्टासम्म सफा एवं चिसो पानीले पखाल्ने र प्राथमिक उपचार पश्चात् नजिकको अस्पतालमा पुर्याउन जरुरी हुने बताउनु भएको थियो ।
त्यसैगरी उक्त अवसरमा डा. नकर्मीले घाइते भएर उपचार गर्नु भन्दा घाइते हुनबाट बच्नु नै श्रेयस्कर हुने भन्दै आगलागी वा आगोले पोलेर घाइते हुनबाट बच्न अपनाउनु पर्ने सावधानीका बारेमा पनि बताउनु भएको थियो । घाइतेहुनबाट बच्ने उपायहरुका बारेमा बताउँदै उहाँले विशेष गरेर हरेक घरको भान्सामा बढी सावधानी अपनाउनु पर्ने बताउनु भयो । धेरैजसो घटनाहरु घरभित्र नै हुने हुँदा त्यस प्रकारका दुर्घटनाबाट बच्नका लागि भान्सामा खाना पकाउँदा चुलो बालेर नछाड्ने, ग्याँस सिडिण्डर, चुल्हो, सलाई, लाइटर जस्तो वस्तुहरु बालबालिकाहरुको पहुँचबाट टाढा राख्ने, सुरक्षित र भरपर्दो रेगुलेटर प्रयोग गर्ने, पुराना तारहरु बदल्ने, बिजुलीका प्लगहरु बालबालिकाबाट सुरक्षित राख्ने, सम्भव भएसम्म सुरक्षा अलार्म, स्मोक अलार्म, अग्निनियन्त्रक उपकरण आदि जडान गर्ने, आदि गरेर पनि आगलागीबाट हुन सक्ने दुर्घटनाबाट बच्न सकिने बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा उठेका बिभिन्न जिज्ञासाहरुलाई डा. शंकरमान राईले सम्बोधन गर्नु भएको थियो । उक्त कार्यक्रममा बोल्दै डा. राईले नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टरले घाइते बिरामीहरुको उपचारका लागि बिभिन्न योजनाहरु अगाडि सारेको बताउनु हुँदै आगोले पोलेर शरिरको अधिकाँश भागमा छालाले काम नगर्ने अवस्थामा पुगेका बिरामीहरुको उपचारमा सहयोग पुर्याउने हेतूले छाला दान कार्यक्रम चलाइएको जानकारी दिनु भयो । त्यसका लागि कुनै पनि व्यक्तिले आफ्नो मरणोप्रान्त आफ्नो शरिरको छाला दान गर्न सक्ने बताउनु हुँदै एक जनाले दान गरेको छालाबाट दुई जनासम्म घाइतेको उचार गर्न सकिने पनि बताउनु भयो । यस प्रकारको मानवीय सेवा गरी कसैको जीवन बचाउन मद्दत पुर्याउनु पनि सबैभन्दा ठूलो जीवनदान भएको उहाँले बताउनु भयो ।
अन्तरक्रियाका क्रममा बिभिन्न रोटरियनहरुद्वारा नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टरको मानवीय सहयोग सम्बन्धी उक्त कोषमा आर्थिक सहयोग तथा अस्पतालको भवन निर्माणमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो । साथै यस प्रकारका मानवीय सेवाका क्षेत्रमा रोटरी क्लब अफ डिल्लीबजार र नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टरका बीचमा आपसी सहकार्य गरेर अगाडि बढ्न सकिने पनि सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा आफ्नो अमूल्य समय दिएर आगलागी जस्तो संवेदनशिल दुर्घटनाबाट बच्ने र घाइते भएमा कसरी उपचार गर्ने भन्ने विषयमा महत्वपूर्ण विचार सहित रोटरियनहरुलाई प्रशिक्षित गराइदिनु भएकोमा डा. नकर्मी तथा डां राईको टिमलाई क्लबका अध्यक्ष रोटरियन प्रेम कुमार ओलीले धन्यवाद सहित आभार प्रकट गर्नु भएको थियो । कार्यक्रममा रोटरी क्लब अफ डिल्लीबजार परिवार, रोट्र्याक्ट क्लब डिल्लीबजार, इन्टर्याक्ट क्लब लगायत करिब ३५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागीहरुले रोटरी क्लब अफ डिल्लीबजारले गरेको अन्तरक्रियात्मक कार्यक्रम अत्यन्तै उपलब्धीमूलक रहेको र धेरै कुरा बुझ्ने मौका मिलेको बताएका थिए । कार्यक्रमको अन्त्यमा अस्पतालका तर्फबाट आउनु भएका डा.राई तथा उहाँको टिमलाई मायाको चिनोको रुपमा क्लबद्वारा प्रकाशित स्मारिका पुस्तक हस्तान्तरण गरिएको थियो ।
रोटरी क्लब अफ डिल्लिबजार आफ्ना हरेक गतिविधिलाई समाजसँग जोडेर समाजमा विद्यमान समस्या समाधानका साथै सिंगो समाजको रुपान्तरणका लागि सदैव क्रियाशिल रहेको क्लबबाट हुने गरेका गतिविधिहरुले प्रष्ट्याएको देखिन्छ ।

 

Previous articleकाँग्रेसको आधिकारिकता सम्बन्धमा छलफल गर्दै निर्वाचन आयोग
Next articleजुरीख नेपाली स्पोर्ट्स क्लब स्विट्जरल्याण्डको चौथो महाधिवेशन सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here