बेर्न। स्विट्जरल्याण्डमा रहेका गैर आवासीय नेपालीहरूका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) स्विट्जरल्याण्डले कार्यकाल २०२५–२०२७ का लागि नयाँ सदस्यता दर्ता खुला गरेको छ। संघले १८ डिसेम्बर २०२५ देखि मेम्बर्स रजिस्ट्रेसन सिस्टम (MRS) मार्फत नयाँ सदस्यता दर्ता प्रक्रिया सुरु गरेको जनाएको छ।
सूचना अनुसार नयाँ सदस्य बन्न चाहने इच्छुक गैर आवासीय नेपालीहरूले ९ जनवरी २०२६ भित्र सदस्यता दर्ता गरि सक्नु पर्नेछ। सदस्यता दर्ताका लागि स्मार्टफोनमा Smart NRNA App डाउनलोड गरी एप मार्फत लगइन गर्नुपर्ने व्यवस्था गरिएको छ। लगइनका क्रममा व्यक्तिगत विवरण भर्नुका साथै सेल्फी र प्रोफाइल फोटो अपलोड गर्नु पर्ने छ।
सदस्यता प्रमाणीकरणका लागि स्विट्जरल्याण्डमा बसोबास गरेको प्रमाण खुल्ने कागजातहरू मध्ये कुनै एक—स्विस पासपोर्ट, स्विस आइडी कार्ड, बसोबास अनुमति पत्र (B, C वा अन्य), वैध भिसासहितको नेपाली पासपोर्ट, ड्राइभिङ लाइसेन्स आदि—अपलोड गर्नुपर्ने संघले जनाएको छ।
नयाँ सदस्यताका लागि शुल्क ३० स्विस फ्राङ्क तोकिएको छ। शुल्क पोस्ट बैंक मार्फत एनआरएनए स्विट्जरल्याण्ड फ्राइबुर्गको खातामा जम्मा गर्नु पर्ने छ र भुक्तानीको प्रमाण पनि अनिवार्य रूपमा पेश गर्नु पर्ने छ।
सदस्यता दर्ता प्रक्रियामा कुनै समस्या आएमा संघका पदाधिकारीहरू सँग सम्पर्क गर्न सकिने जनाइएको छ। एनआरएनए स्विट्जरल्याण्डले स्विट्जरल्याण्डवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू लाई समयमै सदस्यता दर्ता गर्न आग्रह गरेको छ।
गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले जारी गरेको सुचना।




