यूरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरुको संस्था ֞सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन यूरोपʺ (SNHPE) ले एक लाख राशीको यूरोप नेपाल स्वास्थ्य पुरस्कार २०२५ नेपाल चिकित्सक सँघ (NMA) लाई प्रदान गरेको छ ।

SNHPE द्वारा सोमबार काठमाडौँमा आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाल चिकित्सक सँघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । संस्थाका अध्यक्ष डा. बिनय कुमार श्रेष्ठको भर्चुअल सभापतित्वमा सम्पन्न उक्त पुरस्कार वितरण कार्यक्रममा संस्थाका खोज अनुसन्धान तथा विज्ञान विभागका निर्देशक डा. कौशल किशोर तिवारी र कार्यकारी बोर्ड सदस्य श्री दिपक पौडेलको उपस्थिति रहेको थियो भने अन्य बोर्ड सदस्यहरुको भर्चुअल उपस्थिति रहेको थियो ।
कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अञ्जली कुमार झा, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा. प्रमोद जोशी, नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. लोचन कार्की, डा. आनन्द प्रसाद श्रेष्ठ, डा. चोपलाल भुषाल, प्रा.डा. रमेशकान्त अधिकारी, डा. बुद्धिमान श्रेष्ठ, डा. अनिल भट्टराई लगायत अन्य बिशिष्ट श्रेणीका चिकित्सकहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा आवद्ध चिकित्सकहरु, अन्य बिभिन्न क्षेत्रका बिशिष्ट व्यक्तित्वहरु, बिभिन्न मिडिया हाउसका व्यक्तित्वहरु, साहित्यकारहरु लगायत बिभिन्न तह र तप्काका बिशिष्ट व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा SNHPE का निर्देशक डा. कौशल किशोर तिवारीले पुरस्कार वितरण कार्यक्रमका बारेमा प्रकाश पार्दै संस्थाको उद्देश्य र भावी योजनाका साथै बारेमा जानकारी दिँदै यस प्रकारका पुरस्कारका कार्यक्रमहरु आगामी दिनमा अझ बढी परिस्कृत र व्यवस्थित गराउँदै लैजाने बताउनु भयो ।
कार्यक्रममा बोल्दै पुरस्कार प्राप्त गर्ने संस्था नेपाल चिकित्सक सँघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले यस प्रकारका सम्मानले आफू र आफ्नो संस्थालाई थप जिम्मेवारी बढेको बोध भएको बताउँदै आगामी दिनमा अझ बढी काम गर्ने हौसला मिलेको बताउनु भयो । उहाँले अगाडि भन्नु भयो, अवार्ड पाउनु अत्यन्तै खुशी र गर्वको कुरा हो साथै यसले सँघलाई आगामी दिनमा आफ्नो काम र कर्तव्यप्रति अझ बढी जिम्मेवार हुन प्रेरित गरेको बताउनु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रा.डा. रमेशकान्त अधिकारी, प्रा.डा. आनन्द प्रसाद श्रेष्ठ, डा.अनिल भट्टराई र डा. बुद्धिमान श्रेष्ठले रु. एक लाख राशी बराबरको यूरोप नेपाल स्वास्थ्य पुरस्कार २०२५ को आयोजना गरी नेपाल चिकित्सक सँघलाई पुरस्कार प्रदान गरेकोमा सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन यूरोप (SNHPE) लाई धन्यवाद दिनुका साथै पुरस्कार प्राप्त गर्ने संस्था नेपाल चिकित्सक सँघलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत सँघले नेपालको स्थास्थ्य सेवाका क्षेत्रमा उल्लेखनीय कार्य गरोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।
पुरस्कारको प्रमुख उद्देश्यका बारेमा प्रकाश पार्दै SNHPE का अध्यक्ष डा. बिनय श्रेष्ठले नेपाल चिकित्सक सँघले गत वर्ष नेपालका रेसिडेण्ट चिकित्सकहरुको हक अधिकार सुनिश्चित गर्ने अभियान चलाई मेडिकल अफिसरहरुको न्यूनतम पारिश्रमिक कायम गर्न सफल भएको र नेपालमा स्वास्थ्यकर्मीहरुको पेशागत हक अधिकार सुदृढ गर्न सँघले खेलेको अहम भूमिका प्रशंशनीय रहेकोले त्यसको कदरस्वरुप यो पुरस्कार प्रदान गरिएको बताउनु भयो ।
संस्थाको नेपालको स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्याएका स्वास्थ्यकर्मी वा संस्थालाई हरेक वर्ष सम्मानित र प्रोत्साहित गर्ने नीति अन्तर्गत उक्त पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार एक लाख एक रुपैयाँ नगद राशी तथा ताम्रपत्र सहितको रहेको छ ।
यूरोपमा रहेका नेपाली मूलका स्वास्थ्यकर्मीहरुको हक, हित र स्तरोन्ततिका क्षेत्रमा कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको ֞सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन यूरोपʺ स्वीटजरल्याण्डमा विधिवत रुपमा दर्ता भई यूरोपभरि सक्रिय रहेको छ । संस्थाले यसअघि सम्पन्न गरेको एम्टर्डम सम्मेलनका अवसरमा नर्वे र स्विडेनमा कार्यरत प्रा.डा. गणेश आचार्यलाई नेप्लिज हेल्थ प्रोफेसनल अफ द इयर २०२५ प्रदान गरिसकेको छ ।
कार्यक्रम नेपाल स्वीस डमकमका प्रधान सम्पादक दामोदर नेपालको सञ्चालमा सम्पन्न भएको थियो ।



