रोटरी क्लब अफ डिल्लिबजार, राेट्रयाक्ट क्लब अफ डिल्लिबजार, सहज फाउन्डेसन तथा राेट्रयाक्ट क्लब अफ काठमाडौंको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोक जिल्लास्थित पनौती नगरपालिका अन्तर्गत बगरगाउँ, रोशीगाउँ लगायत आसपासका क्षेत्रका बासिन्दाहरूलाई लक्षित गरी न्यानो लुगा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
जाडोयाम क्रमशः बढ्दै गइरहेको वर्तमान अवस्थामा ती क्षेत्रका विपन्न तथा आवश्यकतामा परेका समुदायका बालबालिका, महिला र वृद्धवृद्धाहरूलाई चिसोबाट जोगाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम अन्तर्गत करिब ३०० केजी बराबरका न्यानो लत्ताकपडा वितरण गरिएको थियो। वितरण कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो भने सहयोग प्राप्त गरेका परिवारहरूले आयोजक संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
यस किसिमका मानवीय तथा सामाजिक सेवामूलक कार्यक्रमहरूले समाजमा सहयोग, सद्भाव र मानवताको भावना अभिवृद्धि गर्ने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन्। आगामी दिनहरूमा पनि यस्ता सेवामूलक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ।







