रोटरी क्लब अफ डिल्लिबजारले हरेक महिना आयोजना गर्दै आएको नियमित रक्तदान अभियान अन्तर्गत चौथो रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। डिल्लिबजार कम्युनिटीसँगको सहकार्यमा सञ्चालित सो कार्यक्रम डिल्लिबजारस्थित राधा कृष्ण मन्दिर परिसर, पीपलबोटमा आयोजना गरिएको थियो।

कार्यक्रममा क्लबका पदाधिकारी, स्थानीय समाजसेवी तथा रोट्रयाक्ट सदस्यहरूको सहभागिता उल्लेखनीय रह्यो। उक्त रक्तदान कार्यक्रममा विभिन्न उमेर समूहका स्वयंसेवी रक्तदाताहरूले सक्रिय रूपमा रक्तदान गरेका थिए भने रोटरी पदाधीकारीद्वारा रक्तदाताहरुलाई प्रमाणपत्र पनि बितरण गरिएको थियो ।
रोटरी क्लब अफ डिल्लिबजारका पास्ट प्रेसिडेन्ट लीलानाथ शर्मा, पास्ट प्रेसिडेन्ट इन्दिरा पराजुली, प्रेसिडेन्ट–इलेक्ट सुजिता अधिकारी, प्रोजेक्ट चियर डा। हरि कृष्ण बाँसकोटा, एडमिन चियर सौरभ पन्त, रोटरियन दामोदर नेपाल, रोटरियन बिष्णु पराजुली लगायतका पदाधिकारीको उपस्थिति थियो।
क्लबका पदाधिकारीहरूका अनुसार नियमित रक्तदान कार्यक्रमले रोटरी क्लब अफ डिल्लीबजार र स्थानीय समुदायसँगको सहकार्य, पहुँच र जनविश्वास वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ। साथै, यस्ता अभियानले आम सर्वसाधारणलाई रोटरीद्वारा सञ्चालित बिभिन्न सेवामूलक कार्य तथा गतिविधिहरूसँग जोड्ने वातावरण निर्माण भइरहेको र भावी दिनमा सामाजिक सेवाका क्षेत्रमा अझ व्यापक प्रभाव विस्तार गर्ने विश्वास व्यक्त गरिएको छ।



