होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको तेश्रो पूर्ण बैठक बिभिन्न निर्णयहरू गर्दै काठमाडौँमा सम्पन्न भएको छ ।
काठमाडौँको गौशाला, पिंगलास्थानस्थित अमरावती बुटिक होटलमा सम्पन्न बैठकले प्रदेश अन्तरगत रहेका १३ वटै जिल्लामा सम्बन्धित जिल्ला संघहरूको आयोजनामा रैथाने फुड फेस्टिभल आयोजना गर्ने, व्यवसायी र प्रतिष्ठानमा कार्यरत कर्चारीहरूको क्षमता अभिवृद्धिका लागि आतिथ्यता व्यवस्थापन तालिम र डिजिटल क्षमता अभिवृद्धि तालिम आयोजना गर्ने लगायतका निर्णय गरेको हो ।
बैठकले सबै जिल्ला संघहरूलाइ प्रविधिमैत्रि बनाएर जिल्ला भित्रका पर्यटकीय, धार्मिक, ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक आदि सम्पदाहरूको आन्तरिक तथा बाह्य रूपमा प्रचार प्रसार एवं प्रवर्द्धन गर्ने उद्येश्यका साथ सबै जिल्ला संघहरूका आ आफ्ना वेभसाइट निर्माण गर्ने पनि निर्णय गरेको छ । त्यसैगरी बैठकले व्यवसायीका आम समस्याहको पहिचान र निर्क्योल गरी ती समस्याहरू समाधानका लागि सरोकारवाला निकायहरूसँग छलफल र अन्तरक्रिया गर्ने र नीतिगत अस्पष्टतका कारण व्यवसायीहरूले भोग्नु परेका कठिनाइहरूको निराकरणका लागि तत् तत् निकायमा नीतिगत सुधारको पहलकदमी गर्ने पनि निर्णय गरेको छ । साथै बैठकले संघको छैठौँ वार्षिक साधारणसभा आगामी पौष २७ गते गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा सहभागी हुन काठमाडौँ बाहिरबाट आउनु भएका अन्य १२ जिल्लाका अध्यक्ष एवं प्रदेश संघका पदाधिकारी तथा सदस्य एवं सल्लाहकारहरूलाइ जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालले खादा लगाएर स्वागत गर्दै बागमती प्रदेश संघको बैठक काठमाडौँमा आयोजना गरी सिंगो प्रदेश संघ परिवार र बाहिर जिल्लाबाट पाल्नु भएका पाहुनाहरूलाइ स्वागत गर्ने अवसर प्रदान गरेकोमा बागमती प्रदेश संघलाइ धन्यवाद व्यक्त गर्नु भयो ।
बैठक संघका अध्यक्ष दामोदर नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।






