नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो कार्यकाल लम्ब्याउने इच्छा भए विशेष महाधिवेशनबाट पुनःसभापतिमा प्रतिस्पर्धा गर्न चुनौती दिएका छन् । रिपोर्टर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी विधानले विशेष अधिवेशनलाई महाधिवेशनमा गणना नगरेकाले छोटो अवधिका लागि शेरबहादुर देउवाले कार्यकाल लम्बाउन सक्ने स्पष्ट पारे । नेता तिवारीले विषेश महाधिवेशनबाट लम्ब्याएको कार्यकालले वैधता प्राप्त गर्ने पनि बताए ।
शेरबहादुर देउवाको पिँढी र उनी पछिको पिँढीलाई आफूजस्तो नवयुवाको पिढीले लोकतन्त्रको पाठ पढाउनुपर्ने समय आएकोमा लज्जाबोध व्यक्त गर्दै नेता तिवारीले पार्टीको ५४ प्रतिशत हस्ताक्षरलाई खेलाचीको रुपमा नलिन अनुरोध गरे ।
कांग्रेसको इतिहासमा पहिलोपटक विशेष अधिवेशनको लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर बुझाउनु चानेचुने कुरा नभएको उनको भनाई छ । उनले भने, ‘हस्ताक्षर बुझाएको पनि डेढ महिना बितिसकेको छ र पार्टी विधान अनुसार विशेष अधिवेशनका लागि हस्ताक्षर दर्ता भएका मितिले ३ महिनाभित्र विशेष अधिवेशन बोलाउनु बाध्यकारी हुन्छ ।’
सभापति देउवाले असोज २८ गते स्वास्थ्य उपचार गर्न जाने क्रममा पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएको भएतापनि निर्वाचन आयोगमा दल दर्ता गर्दा आफ्नै हस्ताक्षर प्रयोग गर्नु दुर्भाग्यपूर्ण र गलत कार्य भएको उनको दावी थियो ।
‘सभापतिले कार्यवहाक दिँदा राम्रो सन्देश गएको थियो, फेरि सक्रिय हुन लाग्नु भएको कदमले फेरि गलत सन्देश गएको छ, उहाँ फेरि सक्रिय हुनु, सभापति देउवा आफै र पार्टी तथा देशका लागि पनि राम्रो हुदैन,’– उनले भने ।



