युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था ‘सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप’ (SNHPE) ले ‘युरोप नेपाल स्वास्थ्य पुरस्कार २०२५’ नेपाल चिकित्सक सँघ (Nepal Medical Association) लाई प्रदान गर्ने घोषणा गरेको छ।

नेपाल चिकित्सक सँघ (नेपाल मेडिकल एसोसिएसन) ले गत वर्ष नेपालका रेसिडेन्ट डाक्टरहरूको हक–अधिकार तथा भत्ताहरू सुनिश्चित गर्ने अभियान चलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति गरी मेडिकल अफिसरको न्यूनतम तलब कायम गर्न सफल भएको थियो। त्यसैगरी, नेपालमा स्वास्थ्यकर्मीहरूको पेशागत हक–अधिकार सुदृढ गर्न सँघले खेलेको भूमिका प्रशंसनीय रहेकोले त्यसको कदरस्वरूप ‘युरोप नेपाल स्वास्थ्य पुरस्कार’ प्रदान गरिएको सोसाइटीका अध्यक्ष डा. विनयकुमार श्रेष्ठ बताउनु भयो।

गएको अगस्टमा सोसाइटीको पहिलो अधिवेसन नेदरल्याण्डको राजधानी एम्स्टर्डममा सम्पन्न भएपछि नेपालको स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्‍याएका स्वास्थ्यकर्मी वा संस्थालाई सम्मानित र प्रोत्साहित गर्ने हेतुले हरेक वर्ष पुरस्कृत गर्ने नीतिगत निर्णय भएको थियो।

यो पुरस्कार एक ताम्रपत्र (तामाको पानामा कुँदिएको प्रमाणपत्र) तथा एक लाख एक रुपैयाँ पुरस्कार राशीको रहेको छ।

युरोपमा रहेका नेपाली मूलका स्वास्थ्यकर्मीहरूको हक, हित र स्तरोन्नतिमा काम गर्ने उद्देश्य राखी स्थापना भएको ‘सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप’ स्विटजरल्याण्डमा विधिवत दर्ता भई युरोपभरि सक्रीय रहेको छ। यसअघि, सोसाइटीको एम्स्टर्डम सम्मेलनमा नर्वे र स्विडेनमा कार्यरत प्रा. डा. गणेश आचार्यलाई ‘नेप्लिज हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ प्रदान गरिएको थियो ।

सोसाइटीमा युरोपभरका नेपाली डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरू आबद्ध रहेका छन्।

 

 

Previous articleरास्वपाको प्रवास सम्पर्क समिति स्वीट्जरल्याण्ड गठन
Next articleबिभिन्न तालिम तथा रैथाने खाना महोत्सव गर्ने निर्णय गर्दै बागमती प्रदेश संघको बैठक सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here