स्वीटजरल्याण्डको बेर्नमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास कमिटी गठन हुने भएको छ ।
आगामी १६ नोभेम्बरका दिन स्वीटजरल्याण्डको बेर्नमा नेपालीहरुको भेला आयोजना गरिएको र उक्त भेलाद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास कमिटी अन्तरगतको स्वीट्जरल्याण्ड कमिटी गठन हुने स्वीटजरल्याण्डका संयोजक रेशम खत्रीले जनाएका छन् ।
पछिल्लो समय नेपालमा क्रियाशिल प्रमुख राजनीतिक दलहरु मध्ये युवा पिँढीद्वारा बढी रुचाइएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीको प्रवास संगठन बिस्तारको क्रमलाई निरन्तरता दिएको छ । सोही क्रममा हालसम्म रास्वपाको ३६ वटा देशमा प्रवास कमिटी बिस्तार भईसकेको छ भने स्वीटजरल्याण्डमा गठन भए पश्चात् स्वीटजरल्याण्ड ३७ औँ प्रवास कमिटी हुनेछ ।
यसअघि नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरुका प्रवास कमिटीहरु सक्रिय रहेका थिए भने पछिल्लो समय रास्वपाप्रति युवा वर्गको आकर्षण बढेसँगै सो पार्टीले पनि प्रवासमा आफ्नो संगठनलाई बिस्तार गर्दै लगेको छ । त्यसैको निरन्तरता स्वीटजरल्याण्डको बेर्नमा हुन लागेको भेला हो ।



