आज हरिवोधनी एकादशीको दिन हिन्दू धर्मावलम्वीहरुले विशेष पूजा अर्चना गर्दै तुलसीको विवाह गरेर मनाउँदैछन् ।

हिन्दू परम्परा अनुसार कार्तिक शुक्ल एकादशीका दिन तुलसीलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानेर तुलसीको दामोदर भगवान्सँग विवाह गरेर विशेष पूजा अर्चना सहित आजको एकादशी मनाउने प्रचलन रहेको छ । त्यसैगरी आषाढ शुक्ल एकादशी जसलाई हरि शयनी एकादशी पनि भन्ने गरिन्छ का दिन क्षीर सागरमा शयन अर्थात सुत्नु भएका भगवान् विष्णु आज कै दिन जागा हुने भएकोले आजको दिनलाई हरि वोधनी एकादशी भन्ने गरिएको मान्यता रहेको छ । भगवान् हरि शयन गर्नु भएको चार महिना विष्णु भक्तहरुले तुलसीको व्रत गरी विशेष पूजा अर्चना गर्ने गर्दछन् ।

आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन तुलसी रोपेर विशेष पूजाआजा गरिएको तुलसीको मोठमा निगालाको लिंग गाढी फूल माला, वश्त्र आदिले सजाएर दुलहीलाई झैँ सिँगारी विधिपूर्वक पूजाआजा गरी तुलसीलाई दामोदरसँग विवाह गरिदिने परम्परा रही आएको छ । यो चार महिनासम्म पूजा गरिएको तुलसी पूजाको उद्यापन विशेष पूजा र अग्निस्थापना विधि पूर्ण गरी हवन सहित सम्पन्न गरिन्छ । आजको कार्तिक शुक्ल एकादशीदेखि मार्गकृष्ण पञ्चमीका दिनसम्म अग्नी नजुरेका दिनमा पनि अग्निस्थापना विधिबाट हवनादि कर्म गर्न मिल्ने मान्यता रहेको छ ।
आजका दिन काठमाडौँ उपत्यका भित्रका चार नारायणहरुः भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थान मन्दिरमा विशेष मेला लाग्दछ भने छिमेकी जिल्ला धादिङको नीलकण्ठ नगरपालिका ४ नं. वडास्थित ऐतिहासिक स्थल कालिका मन्दिरमा पनि विशेष मेला लाग्ने गर्दछ । काठमाडौँका चार वटै नारायणस्थानहरुमा जान नसक्ने भक्तालुहरुले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा पनि चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने जन विश्वास रहेको छ ।




