जुरीख। परदेशी भूमिमा बसेर पनि मातृ भूमिको संस्कृति प्रति गहिरो आस्था र मायाले बाँधिएका स्विट्जरल्याण्ड स्थित नेपालीहरूले यस वर्ष पनि महान् चाड विजयादशमी उल्लास पूर्वक मनाए।

दशैंको मुख्य दिन विजयादशमीका अवसरमा विभिन्न शहरमा बसोबास गर्ने नेपाली परिवारहरूले टीका जमरा लगाएर आपसी भेटघाट गरे। टाढा भए पनि आफ्ना दिदी बहिनी, दाजुभाइ, बुवा–आमाको मायाँ सम्झँदै स्वदेशकै झल्को दिने वातावरण सिर्जना भएको सहभागीहरूले बताए।

घर देश बाट टाढा रहँदा पनि घर घरमा उमारिएको जमराको हरियाली र निधारमा लगाएको रातो टीकाले सबैको मन भिजाएको थियो। कतिपयले फोन र भिडियो कलमार्फत स्वदेशमा रहेका आफ्ना प्रियजनसँग आशीर्वाद आदान–प्रदान गरे।

“दशैं भनेको केवल चाड मात्र होइन, आस्थासँगै परिवार, संस्कृतिको भावनात्मक गाँठो हो। स्विट्जरल्याण्डमा भए पनि हामी नेपाली पन जोगाएर राखेका छौं,” नेपाली समाजका एक अगुवाले भने।

कार्यक्रममा परम्परागत खाना, बाजागाजा, भाकाले सबैलाई आफ्नो जन्मभूमि सम्झाएको थियो। विशेष गरी स–साना बालबालिकाले पनि टीका जमरा लगाएर आशीर्वाद लिँदा वातावरण अझै रमाइलो बनेको थियो।

स्विट्जरल्याण्डमा मनाइएको यस वर्षको दशैंले फेरि एक पटक प्रमाणित गर्‍यो परदेश कतै भए पनि नेपाली संस्कार, संस्कृति र आपसी मायाँ कहिल्यै मर्दैन।

Previous articleके भन्छन् जर्मनीमा कार्यरत नेपाली डाक्टर?
Next articleआज तुलसीको विवाह गरेर हरिबोधिनी एकादशी व्रत मनाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here