रोटरी क्लब अफ डिल्लिबजारले हरेक वर्ष झैं यस वर्ष पनि सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क स्वास्थ्य शिविर तथा ४०+ म्याराथुन कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ। क्लबले स्थानीय मैतिदेवी–डिल्लिबजार ४०+ युवा समूहसँग सहकार्य गर्दै म्याराथुन आयोजना गरेको हो। उक्त म्याराथुन कार्यक्रममा बाल चौलागाइले प्रथम, सन्तोस ढुङ्गेलले दोस्रो र सुजन श्रेष्ठले तेस्रो स्थान हासिल गरेका थिए ।

 

यस अवसरमा स्थानीय बासिन्दाहरूलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको थियो। स्वास्थ्य शिविरमा रगत परीक्षण, आँखा परीक्षण, होल बडी चेकअप, र रक्तदान कार्यक्रम समावेश गरिएको थियो। कार्यक्रममा उपस्थित स्थानीयले विभिन्न स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभ उठाएका थिए।

कार्यक्रमका संयोजक निवर्तमान अध्यक्ष सागरनिधि तिवारीले स्वास्थ्य सेवा र सचेतना अभियानले समुदायमा सकारात्मक प्रभाव पार्ने मात्र नभई धेरै मानिसहरू प्रत्यक्ष लाभान्वित भएको बताए। उनका अनुसार, विशेषगरी दीर्घरोग तथा आँखासम्बन्धी समस्या भएका व्यक्तिहरूले स्वास्थ्य परीक्षण गराउन पाएकोमा निकै खुसी व्यक्त गरेका थिए।

 

सोही अवसरमा रोटरी क्लब अफ डिल्लिबजारका अध्यक्ष प्रेम वलीले भने, “यस्ता कार्यक्रमले स्थानीय समुदाय र रोटरी क्लबबीच अझ गहिरो सम्बन्ध कायम हुनुका साथै रोटरीको सार्वजनिक छवि (Public Image) थप मजबुत हुन्छ,” भन्ने धारणा राखे।

कार्यक्रममा रोटरी क्लबका अन्य पदाधिकारी, समाजसेवी, स्थानीयवासी र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो। स्थानीयवासीको सक्रिय सहभागिताले कार्यक्रमलाई अझै प्रभावकारी बनाएको आयोजकले जनाएको छ।

रोटरी क्लब अफ डिल्लिबजारले यसअघि पनि नियमित रूपमा स्वास्थ्य शिविर, रक्तदान, विद्यार्थीहरूको स्वास्थ्य परीक्षण जस्ता सामाजिक उत्तरदायित्वका गतिविधिहरू गर्दै आएको छ। क्लबका पदाधिकारीहरूका अनुसार, आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।

Previous articleआन्दोलनका घाइतेहरूको सहयोगार्थ रक्तदान कार्यक्रम सम्पन्न
Next articleटेष्ट राष्ट्र वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here