हालै भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको सहयोगार्थ एकता होटल तथा गेष्टहाउस व्यवसायी संघले रक्तदान कार्यक्रम गरेको छ ।


काठमाडौँको गौशालामा मंगलबार सम्पन्न उक्त रक्तदान कार्यक्रममा कूल ८९ जनाले रक्तदान गरेका छन् ।
पछिल्लो समय जेनजी आन्दोलनका क्रममा काठमाडौँ लगायत देशैभर भएको प्रदर्शनमा घाइते भई अस्पतालमा उपचार गराईरहेका घाइते बिरामीहरुको उपचारका क्रममा रगत अभाव भएको खबर बाहिर आएपछि एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यक्रम अन्तर्गत र वर्तमान विषम परिस्थितिको समेत आँकलन गरी अस्पतालको शैय्यामा छटपटाइरहेका बिरामीहरुको उपचारमा केही सहयोग पुगोस् भन्ने भावनाका साथ उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष सरोज आलेले बताए ।

उक्त रक्तदान कार्यक्रममा होटल व्यवसायीहरु, होटल व्यवसायमा कार्यरत कर्मचारीहरु, स्थानीय सर्वसाधारणका साथै विदेशबाट भर्खरै विमानस्थलमा झरेर आफ्नो घर जान तयार भएका यात्रुहरुले समेत रगतदान गरेका थिए ।



कार्यक्रममा होटल व्यवसायी महासंघ नेपाल, होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेश, जिल्ला होटल व्यवसायी संघ काठमाडौँ र काठमाडौँ जिल्ला अन्तर्गतका ईकाइ संघहरुको समेत प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।
रक्तदाता सबैलाई संघले प्रमाणपत्र समेत प्रदान गरेको थियो ।
हिमाल अस्पतालसँगको सहकार्यमा सम्पन्न गरिएको रक्तदान कार्यक्रममा सरिक भएर रक्तदान गरी अमूल्य सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरुमा संघका अध्यक्ष आलेले धन्यवाद व्यक्त गरेका छन् ।




