जुरीख। स्विट्जरल्याण्डको जुरी स्थित युरोपालेमा १३ सेप्टेम्बर शनिवारका दिन नेपाली समुदायले नेपालमा भ्रष्टाचार विरुद्ध स्वतन्त्र अभिव्यक्तिको पक्षमा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुँदा ज्यान गुमाएका जेनजी युवा–विद्यार्थी प्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

जुरीखमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा स्विट्जरल्याण्डका विभिन्न शहरबाट नेपालीहरू भेला भएका थिए। सहभागीहरूले आफैंले ल्याएका मैनबत्ती प्रज्वलन गरेर ज्यान गुमाएका युवा प्रति श्रद्धाञ्जली अर्पण गरे। साथै, उपस्थित सबैले एक मिनेट मौन धारण गर्दै दिवंगत आत्माको शान्तिको कामना गरेका थिए।

कार्यक्रमका आयोजक सुभाष सुन्दासले जेनजीले सुरु गरेको आन्दोलनलाई स्विट्जरल्याण्डमा रहेका नेपालीहरूले पनि समर्थन गर्ने बताएका छन्। उनले भने, “हामी विदेशमा भए पनि यो आन्दोलनले सकारात्मक परिवर्तन ल्याओस् भन्ने हाम्रो कामना छ। यसै क्रममा हामीले नेपालका सामाजिक उद्देश्यहरूलाई सहयोग पुर्‍याउने गरी एउटा फेसबुक पेज सुरु गरेका छौं। यसमा कुनै राजनीतिक प्रभाव वा एजेन्डा हुने छैन।”

गत भदौ २३ गते भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध युवाहरू आन्दोलनमा उत्रिएका थिए। आन्दोलनका क्रममा प्रहरीसँग झडप भएको थियो भने विभिन्न ठाउँमा आगजनी हुँदा ठूलो संख्यामा ज्यानमालको क्षति भएको छ। पछिल्लो विवरणअनुसार, जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। जलेका ठाउँहरू सफा गर्ने क्रममा अझै पनि शव भेटिने क्रम जारी रहेको बताइएको छ।

Previous articleगैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको प्रेस विज्ञप्ति
Next articleजुरीखमा जेनजी आन्दोलनमा ज्यान गुमाएका युवा–विद्यार्थीप्रति श्रद्धाञ्जलीको भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here