गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) ले नेपालमा जेनजी पुस्ताको युवाहरुले गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको हिँसात्मक घटना दुःखद भएको बताएको छ ।
गैर आवासीय नेपाली संघले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी काठमाडौँ लगायतका देशका बिभिन्न शहरहरुमा भएका विरोध प्रदर्शनका क्रममा प्रहरीबाट भएको हिँसात्मक घटना दुःखद रहेको बताएको हो ।
संघका प्रवक्ता फणिन्द्र पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छः भ्रष्टाचारको विरोध, सुशासनको माग र फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जालहरूमा लगाइएको प्रतिबन्ध विरुद्ध ‘जेनजी’ पुस्ताको आह्वानमा २०२५ सेप्टेम्बर ८ तारिखमा काठमाडौँसहित देशका विभिन्न सहरहरूमा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शन र सो क्रममा भएको हिंसात्मक घटनाप्रति गैरआवासीय नेपाली संघ गहिरो दुख प्रकट गर्दछ ।
विज्ञप्तिमा अगाडि भनिएको छः प्रहरीले चलाएको गोलीका कारण हालसम्म १९ जनाको मृत्यु भएको र ३४७ जना व्यक्ति घाइते भएका खबरहरूले गम्भीर चिन्ता उत्पन्न गरेको छ। संघ मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।
लोकतान्त्रिक मुलुकका हरेक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रुपमा आफ्ना विचार राख्ने संवैधानिक अधिकार प्रत्याभूत हुन्छ । यसर्थ गैरआवासीय नेपाली संघ घाइतेहरुको निशुल्क उपचार गर्न, मृतकका परिवारलाई अविलम्ब राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, ‘जेनजी’ पुस्ताले उठाएका उचित मागहरुको समयमै सम्बोधन गर्न, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न, भोलिका दिनमा हुनसक्ने यस्ता किमिसका प्रदर्शनपूर्व नै उच्च सुरक्षा सतर्कता अपनाई जीउज्यानको सुरक्षा सुनिश्चित गर्न, शान्तिपूर्ण प्रदर्शनहरूमा अत्यधिक बल प्रयोग नगर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ, जारी विज्ञप्तिमा भनिएको छ ।
अन्त्यमा, नेपालको संविधानले व्यवस्था गरेको अभिव्यक्ति स्वतन्त्रताको हक ९धारा १७० सञ्चारको हक ९धारा १९०, सूचनाको हक ९धारा २७० जस्ता मौलिक हकहरु, साथै मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा १९ मा उल्लेख गरिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रतिकूल नहुने गरी व्यवस्था गर्न गैरआवासीय नेपाली संघ नेपाल सरकारलाई अनुरोध गर्दछ, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।



