जेनजी पुस्ताका युवाहरुको प्रदर्शनमा प्रहरीबाट १९ जनाको ज्यान जाने गरी भएको चरम दमनको देशब्यापी विरोध सहित गृहमन्त्रीको राजीनामा माग भएपछि अन्ततः गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।
सोमबार भएको उक्त प्रदर्शनमा सरकारका तर्फबाट चरम दमन भई प्रहरीको गोली लागी काठमाडौँ १७ जना र इटहरीमा २ जना गरी १९ जनाको मृत्यु हुनुका साथै करिब ३४७ घाइतेहरुको देशका बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको तथ्याँक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । उक्त घटनापछि आन्दोलरत जेनजी पुस्ताको मात्र होइन स्वयं नेपाली काँग्रेसका नेताहरुले समेत गृहमन्त्री लेखको राजीनामा माग गरेपछि सर्वत्र भएको विरोधका कारण पद त्याग्न तयार भएका गृहमन्त्री लेखकले राजीनामा दिएका हुन् ।
सोमबार बिहानैदेखि चर्किएको आन्दोलन र सरकारको चरम दमन पश्चात नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएका थिए । गृहमन्त्री लेखक समेत उपस्थित रहेको उक्त बैठकमा महामन्त्री द्वय गगन थापा, विश्व प्रकाश शर्मा तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधि र कृष्ण प्रसाद सिटौला समेतले लेखकलाई राजीनामा दिनका लागि सुझाव दिएका थिए ।



