भ्रष्टाचार, कुशासन, कुरीति र अव्यवस्थाका विरूद्ध जेनजीको आह्वानमा सोमबार भएको आन्दोलनका क्रममा सरकारी दमनबाट देशभर १९ जनाको मृत्यु भएको छ भने ३४७ जना घाइते भएका छन् ।


सोमबार काठमाडौँ लगायतका देशभरका प्रमुख शहरहरूमा भएका प्रदर्शनका क्रममा सरकारबाट भएको चरम दमनका क्रममा प्रहरीको गोली लागी काठमाडौँमा १७ जना र कोशी प्रदेशको इटहरीमा २ जनाको निधन भएको हो । प्रहरीको दमनबाट देशभरमा हालसम्मको तथ्याँक अनुसार ३ सय ४७ जना घाइतेहरूको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ।
पछिल्लो समय देशमा बढ्दै गएको भ्रष्टाचार र अव्यवस्थाका साथै सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै सरकारले गरेका गलत कामहरूका विरोधमा सोमबार जेनजी पुस्ताका हजारौँ युवाहरू काठमाडौँको माइतिघर मण्डलामा भेला भएका थिए । माइतिघरमा भेला भएको हजारौँ जेनजी युवाहरू त्यहाँबाट सरकार विरोधी नारा लगाउँदै नारा जुलुस सहित बबरमहल हुँदै बानेश्वरमा अवस्थित संसद भवन तर्फ अगाडि बढ्दै प्रहरीको घेरा तोडी संसद भवन प्रवेश गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । सो क्रममा प्रदर्शनकारीलाइ नियन्त्रण गर्ने नाममा प्रहरीले अन्धाधुन्द अश्रु ग्याँस, पानीको फोहरा प्रहार गर्नुका साथै प्लास्टिकको गोली समेत प्रहार गर्दा दर्जनौँ युवाहरू घाइते भए भने कतिको घटनास्थल मै मृत्यु भइसकेको थियो ।


उपचारका लागि अस्पताल लगिएका मध्ये सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, एभरेष्ट अस्पतालमा ३ र विपि कोइराला विज्ञान प्रतिष्ठान धरानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौँको माइतिघर मण्डलाबाट शुरू भएको जेनजी युवाहरूको प्रदर्शन देशका बिभिन्न मुख्य शहरहरूमा समेत फैलिएको छ भने सरकार चरम दमनमा उत्रिएको छ ।
प्रदर्शन अनियन्त्रित हुँदै गएपछि र प्रहरीबाट समेत चरम दमन भएपछि स्थानीय प्रशासनले दिउँसो १२ः३० बजेदेखि राति १०ः०० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो । तर कर्फ्यूको समेत बेवास्ता गर्दै आन्दोलनरत जेनजी युवाहरूले बानेश्वर क्षेत्रमा साँझ अबेरसम्म पनि प्रदर्शन जारी राखेका थिए ।

Previous articleयुरोप, अफ्रिका र नेपालको अनुभवले खारिएका डाक्टर
Next articleगृहमन्त्री लेखकले दिए राजीनामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here