संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले देश विकास र समृद्धिमा निजामती कर्मचारीहरुको अहम भूमिका रहेको बताएकि छन् ।
निजामती सेवा दिवस २०८२ का अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले राजीनितिक परिवर्तन पश्चात हासिल भएका उपलब्धीहरु निजामती कर्मचारीहरुको प्रयास र मिहिनेतबाट मात्र सम्भव भएको धारणा व्यक्त गरिन् ।कार्यक्रममा आफ्नो धाराणा प्रस्तुत गर्दै मन्त्री न्यौपानेले भनिन्,‘संसारका विकसित देशहरुको दाँजोमा हाम्रो देशलाई पुर्याउन सकिन्छ । आज हामीले राजीनितिक परिवर्तन गरिसकेपछि जतिपनि उपलब्धी हासिल गरेका छौं यदि हाम्रा निजामती कर्मचारीहरुले साथ नदिएको भए त्यो उपलब्धी पनि हासिल गर्न सक्ने थिएनौं । त्यसैले अब जति पनि उपलब्धी हासिल गर्नुपर्नेछ त्यसमा कर्मचारीहरुको योगदान महत्वूर्ण रहन्छ । कर्मचारीहरु नैदेश विकासको र समृद्धिको मेरुदण्ड हुन् ।’
त्यसैगरी मन्त्री न्यौपानेले चक्रिय प्रणालीको आधारमा कर्मचारी सरुवा गर्ने व्यवस्था मिलाउन आवश्यक रहेको बताइन् । निवेदन लेखेर नभई कर्मचारीले अनलाइनबाट आफ्नो सरुवाको माग गर्नेगरी सिस्टम बनाउनुपर्ने पर्नेमा उनले जोड दिईन् ।
मन्त्री न्यौपानेले भनिन्,‘कर्मचारी सरुवा गरिदिन पर्याे भन्ने, मलाई यहाँबाट त्यहाँ पुर्याइदिन पर्याे भन्ने लगायतका भीड देखिसकेपछि अब अन्त्य गर्नुपर्छ कि पर्दैन् ? भौतिक रुपमा कर्मचारीहरु आफैँ आएर सरुवा गरिदिन पर्यो, मलाई यहाँ जाँदा न्याय हुन्छ भन्ने परिस्थितिको कहिले अन्त्य हुन्छ ? त्यसैले एउटा त्यस्तो सिस्टमको विकास गर्नुपर्छ जहाँ चक्रिय प्रणालीको आधारमा कर्मचारी सरुवा हुन्छ । त्यो सिस्टमको विकास गर्नुपर्छ । अब निवेदन लेखेर होईन अनलाइनबाट आफ्नो सरुवाको माग गर्नेगरी सिस्टम बनाउनुपर्छ ।’ मन्त्री न्यौपानेले जनतालाई केन्द्रभागमा राखेर काम गर्न आवश्यक रहेको बताईन् ।



