बि.सं. २०८२ साल भाद्र २२ गते आइतबार, भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दैछ । आजको ग्रहण यो वर्षको पहिलो चन्द्रग्रहण पनि हो ।
खास गरेर खग्रास चन्द्रग्रहणका बेला चन्द्रमा रातो रंगको देखिने गर्दछ । रातो रंगको उक्त लालिमायुक्त चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’ भन्ने गरिएको छ ।
खग्रास चन्द्रगहणका बेला पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारिदिन्छ र रातो प्रकाश मात्र चन्द्रमामा पर्ने भएकोले चन्द्रमा रातो देखिने भएको हो ।
आज राति १० बजेर ११ मिनेटबाट शुरु हुने उक्त खग्रास चन्द्र ग्रहणको दृष्य नेपाल, भारत सहित एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका ८५ प्रतिशत जनसंख्याले अवलोकन गर्न सक्ने बताइएको छ । नेपाल पञ्चाञ्ग निर्णायक समितिका अनुसार राति १० बजेर ११ मिनेटमा शुरु भई राति १ बजेर ४१ मिनेटमा अन्त्य हुने चन्द्र ग्रहण मौसम सफा भएमा करिब साँढे तीन घण्टासम्म देख्न सकिनेछ । खासगरी पूर्णिमामा चन्द्र ग्रहण र औशीमा सूर्य ग्रहण लाग्ने गर्दछ । यस वर्षको अर्को चन्द्र ग्रहण आगामी फाल्गुण पूर्णिमामा लाग्ने पनि समितिले जनाएको छ ।



