जुरीख। जुरीख नेपाली स्पोर्ट्स क्लब (ZNSC) ले आयोजना गरेको चौथो पिङ्ग–पोङ्ग प्रतियोगिता २०२५ अगस्ट २३, शनिबारका दिन जुरिखमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा सिङ्गलतर्फ २६ जना खेलाडी र डबलतर्फ ९ टिम सहित कुल ३५ टिमको सहभागिता रहेको थियो। स्विट्जरल्याण्डभरिका विभिन्न जिल्ला र कान्टोनका नेपाली समुदायको उत्साहजनक उपस्थिति रहेको प्रतियोगिता नकआउट प्रणालीमार्फत सञ्चालन गरिएको थियो।
सिङ्गलतर्फ भएको फाइनल खेलमा जुरीख क्लब (ZNSC) का सदस्य आशिष कान्छा प्रथम बन्न सफल भए भने जुरीख क्लबका DAMIN दोस्रो बने। खेल बेष्ट अफ फाइभ प्रणालीमा रोचक र घमासान ढंगले सम्पन्न भएको थियो।
त्यस्तै, डबलतर्फ पनि प्रतिस्पर्धात्मक खेलमा जुरीख क्लबका DAMIN र TIMO प्रथम तथा जुरीख क्लब (ZNSC) का आशिष कान्छा र केशव लिम्बु दोस्रो बने। विजेताहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
यस पटक क्लबले खुला प्रतियोगिता आयोजना गरेको हो। कार्यक्रममा नेपाली र स्वीस समुदायबीचको भाइचारा, एकता र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत पार्ने अवसर प्राप्त भएको आयोजकले बताएका छन्।
प्रतियोगितासँगै उपस्थित सहभागी तथा दर्शकहरूले नेपाली स्वादिलो परिकारको मज्जा लिँदै उल्लासमय वातावरणमा कार्यक्रम सम्पन्न भएको थियो।
जुरीख नेपाली स्पोर्ट्स क्लबले खेल सफल बनाउन योगदान दिने सम्पूर्ण खेलाडी, अतिथि, सहयोगी तथा उपस्थित सदस्यहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।






