जुरीख। गत वर्षझैँ यस वर्ष पनि स्विट्जरल्याण्डमा बसोबास गर्ने नेपाली दिदी बहिनीहरूले हर्ष उल्लासका साथ हरितालिका तीजको पर्व भव्य रूपमा मनाएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला फोरमको आयोजनामा भदौ ८ गते (अगस्ट २४) का दिन स्टाउफेनमा आयोजित कार्यक्रम विविध सांस्कृतिक प्रस्तुति तथा तीजको परिकारसहित सम्पन्न भएको हो।

कार्यक्रममा रातो सारी, रातो टीका र गहनाले सजि एका दिदी बहिनीहरूको उपस्थिति कार्यक्रम स्थल खचाखच भरिएको देखिन्थ्यो।

नेपालकी लोकप्रिय गायिका रिता केसीले आफ्ना चर्चित तीज गीतहरू प्रस्तुत गर्दै उपस्थित दर्शकलाई झुमाइन्। उनको स्विट्जरल्याण्डमा यो तेस्रो प्रस्तुति हो। केसीलाई स्थानीय गायक आषिष परियारले गायनमा साथ दिएका थिए।

विशेष अतिथि ज्योति रिजाल सुवेदीले तीज पर्वको महत्व र यसलाई कसरी मनाइन्छ भन्नेबारे मन्तव्य व्यक्त गर्दै सम्पूर्ण सहभागीलाई शुभकामना दिइन्।

एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष विष्णु थापा र आईसीसी सदस्य शुभ एल्मर लामाले अपेक्षाभन्दा बढी सहभागिता भएको उल्लेख गर्दै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रम सञ्चालन महासचिव यम कौचा मगर र महिला संयोजक बन्दना प्रजापतिले गरेका थिए।

सांस्कृतिक प्रस्तुति र गीत–संगीत सहितको रमाइलो माहोलमा दल पुनको टिमले तयार पारेको विशेष तीज दर सहभागीलाई पस्किएको थियो।

गायिका रिता केसीको लाइभ प्रस्तुतिले कार्यक्रम हललाई झनै आकर्षक बनाएको सहभागीहरूले बताएका थिए। निर्धारित समापन समय नाघ्दा समेत उपस्थितले कार्यक्रम अझै लम्बाउन माग गरेका थिए।

Previous articleविपिनका आमा र बहिनीको प्रधानमन्त्री ओलीसँग भेट
Next articleजुरीख नेपाली स्पोर्ट्स क्लबद्वारा चौथो पिङ्ग–पोङ्ग प्रतियोगिता सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here