त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टिएआइए० को आगमन कक्षमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ ।
जिल्ला होटल व्यवसायी सङ्घले सञ्चालनमा ल्याएको उक्त यात्रु सहायता कक्षको उद्घाटन नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्नु भयो । उद्घाटन कार्यक्रममा संघीय संसद्का सांसद नगेन्द्र कुमाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक हंशराज पाण्डे तथा होटल व्यवसायी महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष शेर बहादुर थापा, महासचिव शंकर भण्डारी, होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, जिल्ला होटल व्यवसायी संघ काठमाडौँ अन्तरगतका सबै इकाइका अध्यक्ष लगायत होटल व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विदेशी तथा स्वदेशी यात्रुलाई सहज वातावरण दिने उद्देश्यले स्थापना गरिएको सहायता कक्षले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल भित्रिने यात्रुलाई पहिलो छाप विमानस्थलमै पर्छ । यदि उनीहरूले सहज र सकारात्मक अनुभव पाए भने, पुनस् नेपाल आउने वातावरण बन्छ ।”
मन्त्री पाण्डेले विमानस्थलका कर्मचारीलाई अन्तर्राष्ट्रिय भाषामा दक्ष बनाउनुपर्ने आवश्यकता औंल्याउँदै होटल, यातायातलगायत सेवा–सुविधा सम्बन्धी जानकारी प्रभावकारी रूपमा दिन सक्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक हंशराज पाण्डेले निजी क्षेत्रको सहकार्यमा आगमन क्षेत्रमा पिपिपी मोडेलमार्फत बनेको सहायता कक्ष उदाहरणीय रहेको उल्लेख गर्नुभयो ।
होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष शेरु थापाले यो पहल धेरै वर्षअघिदेखि गरिआएको भएपनि अब आएर मूर्त रूप लिन सकेकोमा सन्तोष व्यक्त गर्नुभयो ।
त्यस्तै, जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष सुरेश बरालले विमानस्थलको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय बजारमा पर्न जाने भएकाले पर्यटन छवि सुधार्ने उद्देश्यले सङ्घले सहायता कक्ष निर्माण गरेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा मन्त्री पाण्डेले यात्रु सहायता कक्ष सञ्चालक उप समिति संयोजक एवं जिल्ला होटल व्यवसायी संघ काठमाडौँका उपाध्यक्ष जितेन्द्र गिरीलाइ सम्पूर्ण अख्तियारी सहित यात्रु सहायता कक्षको साँचो हस्तान्तरण समेत गर्नुभयो ।










