जुरीख। सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप (SNHPE) का अध्यक्ष डा. बिनय श्रेष्ठले युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीबीच अनुभव आदानप्रदान अनिवार्य रहेको बताएका छन्। उनले विभिन्न मुलुकका नियम, प्रक्रिया र चुनौतीबारे जानकारी साझा गर्न सके नयाँ आउने स्वास्थ्यकर्मीलाई ठूलो सहजता हुने बताएका छन्।

नेपाल–स्विससँगको विशेष कुराकानीमा डा. श्रेष्ठले भने, ‘युरोपका विभिन्न अस्पतालमा काम गर्दा धेरै चुनौतीहरू आउँछन्। कुन देशमा कस्ता नियम लागू हुन्छन्? कुन खालका परीक्षा वा टेस्ट पास गर्नुपर्छ? दर्ता (रजिष्ट्रेसन) अनिवार्य छ कि छैन? यस्ता प्रश्न धेरैलाई हुन्छन्। त्यसैले यी विषयमा अनुभव साटासाट र जानकारी उपलब्ध गराउनुपर्छ।’

उनका अनुसार संस्थाले विभिन्न युरोपेली मुलुकमा स्वास्थ्यकर्मीका लागि आवश्यक नियम, प्रक्रिया र रजिष्ट्रेसनसम्बन्धी विवरण आफ्नो वेबसाइटमार्फत उपलब्ध गराएको छ। ‘युरोपमा नयाँ आउने नेपाली स्वास्थ्यकर्मीहरूले हामीलाई सम्पर्क गर्छन्, जानकारी लिन्छन्। संस्थागत रूपमा एकीकृत हुँदा पुरानाले नयाँलाई सहयोग गर्ने, अनुभव बाँड्ने वातावरण बनेको छ,’ उनले बताए।

नेदरल्याण्ड्सको आम्स्टर्डाममा हालै सम्पन्न स्वास्थ्य सम्मेलन र संस्थाको पहिलो साधारण सभामा युरोपका स्वास्थ्यकर्मीहरूको अनुभव नेपालसँग कसरी जोड्ने भन्ने विषयमा पनि विस्तृत छलफल भएको उनले जानकारी दिए।

‘हाम्रो लक्ष्य युरोपमा आर्जित ज्ञान र अनुभवलाई नेपालमा स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने हो,’ डा. श्रेष्ठले स्पष्ट पारे।

भरतपुर महानगरपालिका–२, चितवनका डा. विनय श्रेष्ठ हाल बेर्नस्थित स्विट्जरल्यान्डको प्रतिष्ठित युनिभर्सिटी अस्पतालमा रेडिएसन अङ्कोलोजी विभागका विशिष्ट विशेषज्ञ का रूपमा कार्यरत छन्। यसअघि उनी जुरिखस्थित एक प्रादेशिक अस्पतालमा विभागीय उपप्रमुखको जिम्मेवारी सम्हालिसकेका थिए। स्विट्जरल्यान्डका विभिन्न अस्पतालमा काम गर्दै उनले करिब दुई दशक लामो अनुभव बटुलेका छन्।

हेर्नुहोस्: डा. श्रेष्ठसंग पत्रकार पंचम अधिकारीले गरेको विशेष कुराकानी:

Previous articleत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा यात्रु सहायता कक्ष सञ्चालनमा
Next articleउपसभामुख रानालाई हटाउने विषयमा पहिला आफू क्लियर हुन कांग्रेस–एमालेलाई नेता खानको सुझाव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here