बासेल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध गरिएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा सुरु गरिएको हस्ताक्षर अभियानले देश–विदेशमा व्यापक जनसमर्थन प्राप्त गरेको छ।
७ असारमा पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौंको माइतीघर मण्डलाबाट सुरु गरिएको अभियानमा हालसम्म १५ लाखभन्दा बढी व्यक्तिले हस्ताक्षर गर्दै ऐक्यबद्धता जनाएका छन्। रास्वपाका अनुसार यस अभियानमा पूर्वन्यायाधीश, विभिन्न दलका नेता तथा कार्यकर्ता, पूर्वप्रहरी, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, कलाकार, सहकारी पीडित, युवा, वृद्ध र आम नागरिकको उल्लेखनीय सहभागिता देखिएको छ।
स्विट्जरल्याण्डबाट ऐक्यबद्धता
देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीहरूले पनि यो अभियानप्रति ऐक्यबद्धता जनाइरहेका छन्। यसै क्रममा स्विट्जरल्याण्डबाट पनि रास्वपाको हस्ताक्षर अभियानलाई ऐक्यबद्धता जनाउदै पार्टी सभापति रवि लामिछानेमाथि राज्यबाट अन्याय र राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर संकलन गरेको बासेल निवासी रेशम खत्रीले नेपाल स्वीस डट कम लाई जानकारी गराए। “स्विट्जरल्याण्डबाट हस्ताक्षर संकलन गरि रहेको छु। कति जति हुन्छ। सबै संकलन भए पछि म तपाईहरु लगाएत सबैलाई जानकारी गराउद छु। कसैले यस अभियानलाई ऐक्यबद्धता जनाउन चाहानु हुन्छ भने म संग र मेरो फोन ०७६ ४१९ ३१ ८१ मार्फत सम्पर्क गर्नु सक्नु हुने छ।“ खत्रीले भने।
रास्वपा स्विट्जरल्याण्ड गठनको तयारी
स्विट्जरल्याण्डको ओल्टेनमा ६ जुलाईमा सम्पन्न बैठकले आउँदो १६ नोभेम्बर २०२५ मा ‘राष्ट्रिय स्वतन्त्र पार्टी, स्विट्जरल्याण्ड’ गठन गर्ने निर्णयसमेत गरेको छ।
स्विट्जरल्याण्डमा अभियानमा जोडिन चाहनेहरूका लागि निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सकिने जनाइएको छ:
- सुर्य भट्टचन (ओल्टेन): ०७७ ९९१ ५८ २८
- नवराज घिमिरे (बेर्न): ०७८ ६७७ ५६ ४०
- लाल सुनार (सोलोथुन): ०७६ ५४१ ८३ ९३
- सुरज सेन्चुरी (जुरिख): ०७६ ५१४ ४६ ११
- अमृत सुवेदी (बादेन): ०७६ ६३९ ८५ ०६
रास्वपाले यो अभियानलाई जनताको न्याय अदालतमा मुद्दा लान तयार पारिएको ‘मिनी जनमत संग्रह’ को रूपमा हेरेको बताइएको छ। विभिन्न देश, समुदाय र क्षेत्रबाट संकलित हस्ताक्षरहरूलाई एकसाथ सरकार र सरोकारवाला निकायहरूलाई बुझाउने तयारी पार्टीले गरिरहेको छ।





