जुरीख। जुरीख नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्विट्जरल्याण्डले “चौथो पिङ्ग पङ्ग (Table Tennis) प्रतियोगिता २०२५” को आयोजना यही आउँदो अगस्ट २३, शनिबारका दिन गर्ने घोषणा गरेको छ। क्लबले विगतमा जस्तै यसपटक पनि खेलकुद मार्फत नेपाली कला, खेल र संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागेको हो।
ZNSC ले अघिल्ला तीनवटा प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गरेपछि, चौथो संस्करणको तयारी अघि बढाएको हो। “खेल नै स्वास्थ्यको धन हो” भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा सिङ्गल र डबल दुवै प्रकारका खेलहरू समावेश गरिनेछ।
प्रतियोगिता जुरीक ओर्लिकोनको माक्स बिल प्लाज (outdoor) मा हुने तय भएको छ। तर, मौसमको प्रतिकूलता वा अन्य कारणले स्थान परिवर्तन गर्नुपर्ने अवस्था आएमा तुरुन्तै जानकारी क्लबले फोन तथा ई-मेलमार्फत दिनेछ।
दर्ता विवरण र नियमहरू:
- दर्ता अन्तिम म्याद: प्रतियोगिताको मितिभन्दा ५ दिन अगाडि
- दर्ता शुल्क:
सिङ्गल: CHF 20.–
डबल: CHF 30.–
- महिला खेलाडीहरूलाई विशेष आग्रह: इच्छुक नेपाली दिदीबहिनीहरूले निःशुल्क रूपमा दर्ता गरि सहभागी हुन सक्नेछन्।
खेल सञ्चालन सम्बन्धी नियमहरू:
- खेल गोलाप्रथा प्रणाली अनुसार सञ्चालन हुनेछ।
- खेल नकआउट प्रणालीमा खेलाइनेछ। फाइनल खेल भने Best of 5 हुनेछ।
- नियममा आवश्यक परे खेलाडीहरूसँग परामर्श गरिनेछ।
- विवाद उत्पन्न भएमा रेफ्री र आयोजक समितिको निर्णय अन्तिम हुनेछ।
- खेल बिहानैबाट सुरु हुनेछ, त्यसैले सबै सहभागीहरूलाई समयमै उपस्थित हुन क्लबले विनम्र अनुरोध गरेको छ।
पुरस्कार वितरण:
प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने खेलाडीलाई मात्र पुरस्कार दिइनेछ। पुरस्कारको संरचना खेलाडीहरूको सहभागिता संख्या अनुसार तय गरिनेछ।
अन्य आकर्षणहरू:
- प्रतियोगिता दिन भव्य ग्रिल पार्टीको आयोजना गरिनेछ।
- सहभागी तथा पाहुनाहरूको लागि साधारण खाना, पेय पदार्थको व्यवस्था गरिएको छ।
- अल्कोहल पेय पदार्थ मूल्य तिरेर प्राप्त गर्न सकिनेछ।
- कुनै समस्या परेमा मूल आयोजक समितिले प्रत्यक्ष हेर्ने व्यवस्था गरेको छ।
ZNSC ले सम्पूर्ण स्वीस नेपाली दाजुभाइ, दिदीबहिनीहरू तथा नेपालप्रेमी स्वीस नागरिकहरूलाई कार्यक्रममा सहभागी भई सफल बनाइदिनुहुन हार्दिक अनुरोध गरेको छ।



