बेर्न। सगरमाथा आरोहण गरेका चार जना स्विस नागरिकलाई नेपाली राजदूतावास,स्विजरल्याण्डले एक विशेष समारोहमार्फत सम्मान गरेको छ। नेपालको हिमाली भूगोलमा पाइला टेकेका ती अनुभवी आरोहीहरूलाई शनिबार स्विजरल्याण्डको राजधानी बर्नमा आयोजित कार्यक्रममा सम्मानित गरिएको हो।
एभरेष्ट डेको पूर्वसन्ध्यामा सम्पन्न उक्त कार्यक्रम एनआरएनए स्विजरल्याण्डको सहकार्यमा आयोजना गरिएको थियो। समारोहमा नेपाली र स्विस समुदायका साथै विदेशी पाहुनाहरूको उल्लेखनीय उपस्थिति थियो। उनीहरूले नेपाली संस्कृतिको स्वाद,हिमाली भावनाको गहिरो अनुभूति र मित्रवत वातावरणको प्रशंसा गरेका थिए।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका ती साहसी पर्वतारोहीहरूले आफ्ना जीवनका अविस्मरणीय क्षण, हिमालसँगको सम्बन्ध र नेपालप्रतिको समर्पण कार्यक्रममै साझा गरे। छ पटक सगरमाथा आरोहण गरिसकेका अनुभवी स्विस पर्वतारोही करि कोब्लर कार्यक्रममा विशेष आकर्षण बने। त्यस्तै, भेरोनिका आर. मायरले सन् २००७ को सगरमाथा आरोहण अनुभव स्लाइडमार्फत सुनाइन्। पिटर ग्स्वेन्ड्टनरले सन् २००४ मा सगरमाथा र २००८ मा मकालु चढेका थिए भने प्याट्रिक जब्रुनले सन् २००८ मा सगरमाथा सफलतापूर्वक चढेका थिए।
कार्यक्रमको औपचारिक सुरुवात नेपाल र स्विजरल्याण्डका राष्ट्रिय गान बजाएर गरिएको थियो। समारोहका प्रमुख अतिथि स्विस विदेश मन्त्रालयअन्तर्गत एसिया-प्यासिफिक डिभिजनका प्रमुख हाइनरिख शेल्लेनबर्ग थिए।
स्विजरल्याण्डका लागि नेपाली राजदूत राम प्रसाद सुवेदीले स्वागत मन्तव्य दिँदै नेपाल–स्विट्जरल्याण्ड सम्बन्धको ऐतिहासिक पृष्ठभूमि, हिमाली मित्रता तथा पर्वतारोहणको योगदानमाथि प्रकाश पारे। एनआरएनए स्विजरल्याण्डका अध्यक्ष कृष्ण प्रसाद शिवाकोटीले मन्तव्य दिँदै कार्यक्रममा सहभागीहरूप्रति आभार प्रकट गरे।
कार्यक्रमको सञ्चालन नेपाली दूतावासका द्वितीय सचिव सुजन लामिछानेले गरेका थिए। कार्यक्रममा नेपाली खाना र सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो।







