आराउ। गतबर्ष कोरोनाको त्रासले हरितालिका तीज पर्वमा पनि नेपाली दिदी बहिनीहरूको घरभित्रै बस्न बाध्य बने। तर युरोपमा यति बेला कोरोनाको प्रकोप पूर्ण रुपमा नियन्त्रण नभएपनि खोप लगाई सकेका मानिसहरू भने जमघट गर्न सुरु गरेका छन्। 

फलस्वरूप प्रवासमा रहेका नेपाली दिदी बहिनीहरु पनि तीजको आगामनसँगै खुलेर जमघट गर्न सुरु गरेका हुन्। गत बर्षको तीजमा स्विट्जरल्याण्डमा नेपाली दिदि बहिनीहरू लकडाउनमा नै थुनिए। तर यस पटक धित मर्ने गरी नाचगान र हर्षोउल्लासका साथ हरितालिका तीजको स्वागत गरेका छन्।

 

स्विट्जरल्याण्डको आराउ कान्टोनको स्टाउफेनमा आईतबार दिदी बहिनीहरु रातैराता पहिरनमा सजिएर गीत संगीतमा रमाउँदै तीज मनाए। गैर आवासीय नेपाली संघ महिला फोरम स्विट्जरल्याण्डले यस पटक पनि यस्तो मेसो जुराएको हो। कार्यक्रम सम्पन्न गर्नका लागि एनआरएनए स्विट्जरल्याण्डले साथ दियो। कोरोनाको कहर यता झण्डै सय जनाको उपस्थितिमा स्विट्जरल्याण्डमा कार्यक्रम भएको यो पहिलो पटक हो।

एनआरएनको स्विट्जरल्याण्डले यसै बर्ष इतिहासमा नै पहिलो पटक महिला नेतृत्व पाएको थियो। शुभ एल्मर लामाको नेतृत्वको रहेको संघले युवा पुस्तामा पनि तीजको महत्व र रहनसहन बुझाउने अभिप्रेरणाले दोस्रो पुस्ताका नेपालीहरुलाई कार्यक्रममा समेटेको थियो। ‘हामीले कोरोनाको अत्यासपछि धेरैपछि यसरी जमघट गर्ने मौका पायौं। समुदायको यो उपस्थितिले हामीलाई अझ प्रेरणा मिलेको छ।’ अध्यक्ष एल्मरले भनिन्।

कार्यक्रममा आईसिसि सदस्य सिमा गौतमले तीजको महत्वबारे बोलेकी थिइन्। एनआरएनए महिला फोरम स्विट्जरल्याण्डकी महिला फोरम संयोजक चम्फा रुकस्टुल ज्ञवालीले कार्यक्रमको संचालन गरेकी थिईन् ।

कार्यक्रममा पोर्चुगलदेखि आएकी कलाकार संगिता पुनले तीजको लहर आयो बरिलै गितमा नृत्य प्रस्तुत गरिन्। सबन महत्तले लाली गुरास अजम्बरी बोलको गीत सुनाईन्। अस्ट्रियादेखि आएकी निर्मला डंगोलले फुलबुटे सारीमा नृत्य प्रस्तुत गरिन्। तीजको अबसरमा सहभागीहरुलाई दल पुन र शशी शंकर यादवको समुहले तयार पारेको दरको समेत ब्यबस्था गरेको थियो।

Previous articleनेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डलको पाँचौ महाधिवेशन स्थगित
Next articleअक्टोबर २ मा स्वीट्जरल्याण्डमा हाइकिङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here