जेनेभा। स्विट्जरल्याण्डका लागि नेपाली राजदूत मणि प्रसाद भट्टराईले इमान्दारीपूर्वक सबैले आफ्नो कर्तव्य निर्वाह गरेमा “समृद्ध नेपाल सुखी नेपालीको” नारा सफल हुने बताए। जेनेभास्थित नेपाली दूतावासले चौंथो संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राजदूत भट्टराईले यस्तो बताएका हुन्।

आईतबार दूताबासले जेनेभामा आयोजना गरेको कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै उनले सबैले आ-आफ्नो ठाउँवाट इमान्दारीपूर्वक कर्तब्य निर्वाह गर्न जरुरी रहेको बताए। राजदूत भट्टराईले भने,”चार बर्ष अघि जारी भएको यो संबिधानले नेपाली जनतालाई अधिकार सम्पन्न बनाएको छ। अधिकारको दृष्टिकोणले पनि बिश्वको उत्कृष्ट संबिधान हो। त्यसैले अब समृद्ध नेपाल निर्माणका लागि सबै मिलेर हातेमालो गरौ।”

मुलुकले राजनीतिक स्थिरता पाईसकेको भन्दै मुलुकमा लगानी गर्न उनले गैर आबासीय नेपालीहरुलाई अनुरोध समेत गरे। “राजनीतिक बाहेकको आर्थिक र सामाजिक हकसहितको नागरिकता गैर आवासीय नेपालीहरुलाई प्रदान हुने ब्यबस्था संबिधानले गरिसकेको छ। नेपाल कानुन आयोगले यहाँहरुकै परामर्शमा कानुन निर्माण पनि गरिरहेको छ। यहाँहरु पनि नेपाली नागरिक सरह नै अधिकार सम्पन्न हुनुहुनेछ।” राजदूत भट्टराईले भने।

 एनआरएनहरुको लगानी, प्रबिधि, पुजी, र ज्ञान र सिपलाई सरकारले  बिशेष महत्व दिएको भन्दै उनले यसका लागि दूताबासले साझेदारीमा आर्थिक कुटनीतिको कार्यक्रम संचालन गर्दै आएको समेत बताए। भिजिट नेपाल २०२० को कार्यक्रमलाई सफल पार्न सक्रिय सहभागिताका लागि पनि राजदूत भट्टराईले जोड दिए।

दूताबासका नियोग उपप्रमुख तीर्थराज वाग्लेले स्विसबासी नेपालीसँग समन्वय गरेर नै अगाडि बढ्ने बताए। सँविधान दिवसको महत्वका बारेमा दूतावासको तर्फबाट भुवन पौडेलले बताएका थिए ।कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चका विक्रम केसी, जनसम्पर्क समिति स्विट्जल्याण्डका श्याम सापकोटाले नेपालको संबिधानबारे चर्चा गरे। केसीले दूतावास र नियोगले स्वीसबासी नेपालीसँग समन्वय गरेर काम गरे भिजिट नेपाल लगायतका कामहरु सफल हुने बताएका थिए भने सापकोटाले संबिधान जारी भएपनि सोचेअनुरुप मुलुकको बिकास हुन नसकेकोबारे गुनासो पोखे।

मन्जु फूयाँलको नृत्यसँगै राष्ट्रगानबाट आरम्भ गरिएको समारोहमा कवि लक्ष्मण देवकोटाले कविता वाचन गरेका थिए । दिपेन्द्र रावत, नीता कपूर, गौरी गुभाजू लगायत स्थानीय कलाकारहरुले गीत संगीत प्रस्तुत गरेका थिए ।

नेपालीहरुको डिपोर्टबारे दूताबासलाई ध्यानआकर्षण

बैधानिक रुपमा रहने प्रक्रियामा पुगेका केहि नेपालीहरुलाई स्विस सरकारले नेपाल फिर्ता पठाईदिएकोबारे एनआरएनले दूताबासको ध्यानआकर्षण गराएको छ।

बैधानिकरुपमा रहने अधिकारको पर्खाइमा रहेका नेपालीहरुलाई फिर्ता पठाईएको बारे संघले दूताबासलाई चासो राख्न अनुरोध गरेको हो। एनआरएनए स्विटजरल्याण्ड अध्यक्ष शिब सुब्बा र प्रस्तावित आइसीसी सदस्य भूमिराज गुरुङले यसबारे दूताबासको ध्यानआकर्षण गराएका हुन्।

दूताबासलाई यसबारे थप जानकारी लिएर नेपाली समुदायको हितमा लाग्ने प्रतिबद्वता ब्यक्त गरेको छ। तर केहि नेपालीहरुलाई डिपोर्ट गरिएको सन्दर्भमा आप्रवासनका सुरक्षाकर्मीहरुले पूर्ण छानविन र यथेष्ट प्रमाण पूरा गरेर फिर्ता पठाईएकोबारे जानकारी प्राप्त भएको दूतावासले जनाएको छ। श्रम गरेर बसिरहेका नेपालीहरुलाई नेपाल फिर्ता पठाउन आँफूले कुनै उदेश्य नरहेकोबारे पनि दूताबासले प्रतिनिधिमण्डललाई स्पष्ट पारेको बताईन्छ।

Previous articleपूर्व सचिव अर्जुन कुमार श्रेष्ठले एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने
Next articleस्विट्जरल्याण्डमा रहेका नेपालीले सामूहिक रूपमा दशै मनाए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here