३१ मार्च २०१९, बसन्त रानाभाट, जुरिच। स्वीट्जरल्याण्डको सबैभन्दा ठूलो शहर जुरिच। शहरदेखि पूर्व झन्डै ७१ किलोमिटरको यात्रा पछि एउटा पहाडी क्षेत्र आउँछ जसको नाम हो मुलेहन। स्वीट्जरल्याण्डमा २६ वटा प्रदेशहरु (क्यान्टोन) छन्। त्यो मध्येको एक रमणीय क्यान्टोन हो ग्लारुस। सोहि क्यान्टोनमा रहेको नगरपालिका ग्लारुस नडमा मुलेहन अवस्थित छ ।

वालेन्सी तालकै छेउमा एउटा रिसोर्ट जस्तै लाग्ने घर छ, जहाँबाट हिउँले टल्केको हिमाल समेत देख्न सकिन्छ। त्यही घरमा हामीले भेट्यौ ईन्जिनियर डिक्ट्रिक एल्मरलाई ।एल्मरसँग नेपाली साइनो समेत गाँसिएको रहेछ। ४३ वर्ष पहिले नेपालमा नै पुगेर शुभ एल्मर लामासँग उनले लगनगाँठो कसेका रहेछन्। यो जोडीको प्रेम अझै पनि लोभलाग्दो छ। अझ त्यो भन्दा पनि उनीहरु भित्रको नेपालप्रेम।

ईन्जिनियर एल्मरको नेपालप्रेम उनले बोल्ने नेपाली भाषामै झल्कन्छ। उनी नेपाली राम्रोसँग बुझ्ने मात्र हैनन् प्रष्टसँग बोल्न पनि सक्छन्। ४५ बर्ष पहिले नेपालको सुदूर पश्चिम जिल्ला बझांग पुगेका थिए उनी । झोलुङ्गे पुल बनाउन दशकौं अघि नेपाल पुगेका उनले त्यतिबेलाको अनुभव सुनाए।

वालेन्सी तालकै छेउमा पुगेर हामी मज्जाले गफियौं। उनी मार्फत ४५ बर्ष अघिको नेपालबारे पनि बुझ्ने मौका पायौ। पटक-पटक नेपाल पुगेका एल्मरले नेपालको विकास निर्माणबारे टिप्पणी समेत गरे। नेपाललाई स्वीट्जरल्याण्ड जस्तै बनाउने चर्चा उनको कानमा पनि पुगिसकेको रहेछ।यसबारे उनले नेपाल सरकारलाई सुझाव दिन समेत भ्याए। प्रस्तुत छ स्वीट्जरल्याण्ड भ्रमणको क्रममा बसन्त रानाभाटले ईन्जिनियर एल्मरसँग गरेको कुराकानी:

यति राम्रो नेपाली बोल्न तपाईले कसरी सिक्नु भयो ?

म स्वीट्जरल्याण्डबाट नेपालमा काम गर्न गएको थिएँ । सुरुमा नेपाली भाषाकै लागि ६-७ हप्ता इन्टेन्सिभ ट्रेनीङ् पनि गरे। बाहिर कामको लागि जानुपर्दा त्यो अनिवार्य पनि थियो। मैले केहि वर्ष नेपालमा बिताएँ, यसले भाषा सिक्न सहयोग पुग्यो।

नेपालको सुदूर पश्चिमस्थित बझाङ जिल्लामा झोलुङे पुल बनाउन स्वीट्जरल्याण्ड देखि तपाई लगायत ३ जनाको टोली पुगेको सुनियो, यो बारे बताईदिनुहोस् न?

हो, त्यो सन् १९७३ डिसेम्बरतिरको कुरा हो। ४५ बर्ष अघि स्वीस सरकार मार्फत पुगेका हौ। कामकै सिलसिलामा  मैले २ बर्ष ३ महिना त्यही बिताएँ । छिटो र राम्रो कामका लागि त्यतिबेला हामीलाई विश्वास गरियो। नेपालमा पुगेर काम गर्ने अवसर मिल्यो। अहिले सम्झंदा झनै आनन्द लाग्छ।

त्यो बेलामा बझाङ्सम्म कसरी पुग्नु भयो ?

काठमाडौबाट प्लेन लिएर धनगढीसम्म। त्यसपछि पैदल यात्रा गर्नुपर्थ्यो। हप्ताको एकपटक डोटी दिपायलसम्म प्लेन चल्थ्यो। त्यसपछि पनि हिड्नु पर्दथ्यो। पहिलो पटकको यात्रामा त्यहाँ पुग्न अलि अफ्ठारो पनि भयो। सुरुमा ३ दिनसम्ममा त्यहाँ पुगिन्थ्यो । बाटो राम्रोसँग थाहा हुँदै गएपछि त २ दिनमै पनि पुगियो। तर फर्कदा अलि झन्झट नै हुथ्यो। प्लेनको कुनै भर नहुने। धनगढीसम्म हिडेर जान्थ्यौ। त्यहाँ हप्तामा ३-४ओटासम्म प्लेन चल्थे। कतिपय अवस्थामा हामी इण्डियाको सडक हुँदै पनि फर्कियौ।

४५ बर्ष पहिले बझाङ् कस्तो थियो नि ?

मलाई त बझाङ् धेरै राम्रो लाग्यो। स्वीट्जरल्याण्डमा धेरै पहाडहरु छन्। नेपाल-स्वीट्जरल्याण्डको भौगोलिक बनावट धेरै मिल्छ। मलाई त धेरै रमाईलो लाग्यो। बरु मलाई दुख लागेको के भने त्यतिबेला बझाङका नेपालीहरुले कहिल्यै काठमाडौ देखेनन्।सडक बाटो थिएन। किनमेल देखि अन्य कामका लागि उनिहरु भारत जानु पर्ने वाध्यता थियो।

त्यति बेला स्वीट्जरल्याण्डमा त पूर्वाधारहरु थिए, विकास भईसकेको हुँदो हो। तपाई नेपालको विकट ठाउँमा पुगेर पनि कसरी घुलमिल हुनुभयो ?

साच्चै बताउनु पर्दा मलाई त्यस्तो गाह्रो लागेन। हिड्न,पहाडमा चढ्न,नयाँ ठाउँमा पुगेर काम गर्न मलाई असाध्यै मन पर्छ। स्वीट्जरल्याण्डमा रहदा पनि म पहाडमा हिडडुल गर्दै काम गर्थे। त्यसैले बझाङमा घुलमिल हुन र काम गर्न धेरै सजिलो भयो। बझाङमा मान्छेहरु धेरै राम्रा थिए,सहयोगी थिए। ती पुराना दिनहरु सम्झदा अहिले झन् आनन्द र रमाईलो लाग्छ।

खानपिन बारे पनि बताईदिनुहोस् न। के-के खानुहुन्थ्यो ?

मैले त्यतिबेला खाना पकाउन त सक्दैनथें । तर नेपाली दाजुभाइहरुले मिठो खाना बनाएर दिनुहुन्थ्यो। सबैको एउटै पाक्थ्यो। मज्जाले दालभात खायौ। ३-४ हप्तामा एकचोटी खसीको मासु पनि खान पाईन्थ्यो।

त्यतिबेला विदेशीलाई स्थानीयहरुले कुन रुपमा हेर्थे ?

अलि नयाँ र फरक लाग्थ्यौ होला। तर हामीहरु बिच माया र आत्मीयता  थियो।

त्यसपछि फर्केर त्यही ठाउँमा कहिल्यै पुग्नु भयो ?

अहिलेसम्म पुगेको त छैन। तर गुगलमा धेरैपटक हेरेको छु त्यो पुल अझै छ। नेपाल १२-१५ पटक नै पुगे तर त्यहाँ पुग्ने समय जुरेन। अहिले त बझाङ्सम्म पुग्ने सडकहरु बनेका छन्। पुग्न त्यति गाह्रो छैन।

त्यो ठाउँ वा पुलको नाम बारे केहि याद छ ?

अलिअलि याद छ। नाम चिर। नदी खलङ्गा। त्यो पछि सेतीसँग मिल्छ। पुलको नाउ त थिएन तर गाउँको नाम सेञ्झु जस्तो लाग्छ।

तपाईको टोलीमा रहेका अन्य साथिहरुसँग अहिले भेटघाट वा कुराकानी हुन्छ ?

हो, हिजो मात्र एकजनालाई भेट्यौ। त्यो बेला स्वीट्जरल्याण्डबाट पुगेका सिनियर इन्जिनियर थिए उनि। अहिले फिनल्याण्ड बस्छन् तर हामीलाई भेट्न आएका थिए। ८४ बर्ष पुगिसके उनि। नेपाल बारे धेरै कुराकानी भयो। हामीले पुराना यादहरुलाई ताजा गर्यौं ।

अब अलिकति फरक कुरा गरौ, नेपाल पनि प्राकृतिकरुपमा स्वीट्जरल्याण्ड जस्तै देखिन्छ। के तपाईंलाई स्वीट्जरल्याण्ड जस्तै नेपाललाई बनाउन सकिन्छ जस्तो लाग्छ ?

पहिले भन्दा अहिले धेरै कामहरु भएका छन्। तर अझै धेरै बाँकी छ। आधारभूतरुपमा सरकारबाट ब्यबस्थापन राम्रो हुनु पर्छ। नेपाली जनताबारे मलाई राम्रोसँग थाहा छ।  ४५ वर्ष पहिले वा अहिले पनि। उनीहरु राम्रो काम गर्न सक्छन्। मेहनती छन्।सम्वन्धित क्षेत्रको ज्ञान र विज्ञता पनि छ। तर सरकारबाट ब्यबस्थापन मिलाउनै पर्छ। राम्रो कामलाई प्रोत्साहन दिने नीति आउनुपर्छ। नियम विपरित काम गर्नेलाई दण्डित पनि गर्न सक्नुपर्छ। नेपालमा नीति र नियम त राम्रा छन्, तर त्यसलाई फलो गरेकोजस्तो लाग्दैन। एउटा राम्रो सिष्टम हुनुपर्छ त्यो नै विकासको मुख्य आधार हो।

पहिले र अहिलेको स्वीट्जरल्याण्ड बारे पनि भनिदिनुहोस् न।

धेरै नै फरक छ। सडक,रेल बाटोघाटो लगायतका पूर्वाधारहरु पहिले धेरै कम थिए। म बच्चा हुँदा ( हाँस्दै मेरो उमेर त नभनौ) एउटा घरमा एउटा ट्वाईलेट मात्र थियो होला तर बाथरुमहरु बनेका थिएनन्। नुहाउनका लागि गाउँमा एउटै ठाउँ थियो। सबै गाउँलेहरु त्यही नुहाउन आउथे। तर अहिले त धेरै परिवर्तन भईसक्यो।

तपाईले बताए अनुसार ५० वर्ष अघि र अहिलेको स्वीट्जरल्याण्डमा धेरै भिन्न देखियो नि। त्यो कसरी सम्भव भयो ?

उद्योग धन्दा राम्रो चल्यो। लगानीको वातावरण बन्यो। त्यसो हुँदा मुलुकको अर्थतन्त्र पनि राम्रो र बलियो बन्यो। यहाँ धनीहरुमात्र धनी भएनन्। गरिबले पनि धन कमाउन सक्ने ब्यबस्थापन सरकारबाट भयो। सुरुमा यहाँ पनि धनीहरु धेरै नै धनी थिए। अन्यको जीवनस्तर राम्रो थिएन। तर दोस्रो विश्वयुद्ध पछि मुलुकले ठूलो फड्को मार्यो। नीति र नियमहरु बने र तिनलाई सबैले पालना गर्दै गए।

अन्त्यमा, एक नेपालप्रेमीको नाताले सम्बृद्ध नेपाल बनाउन के सुझाव दिनुहुन्छ ?

दे ह्याव  टू फलो द रुल । इम्प्लिमेंट द रुल। यति राम्रा नीति नियम, कानुन बनेका छन्। मात्र इम्लिमेन्ट हुन बाँकी छ। त्यसो भएमा देश विकास गर्न समय लाग्दैन।

Previous articleहेर्नुहोस् स्वीट्जरल्याण्डको इन्टरल्याकेन,जहाँ बलिउड चलचित्रहरु बने (भिडियो सहित)
Next articleमहिला फोरम स्विट्जरल्याण्डको आयोजनामा ४५ दिने व्यूटीपार्लर तालिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here