वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरुको साझा पहलमा रिटर्नी माईग्रेण्ट नेपाल नामक संस्था गठन भएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरु जुर्मुराएसँगै लामो समयदेखि राज्यपक्षबाट उपेक्षित रहेको यो वर्गलाई सहयोग गरी आर्थिक समृद्धिको बाटोमा अग्रसर गराउने उद्देश्यका साथ सरकार र विभिन्न संघसंस्थाहरुसँगको समन्वयमा उक्त संस्था गठन गरिएको हो ।

आधिकारिक रुपमा सम्बन्धित निकायृमा दर्ता भएसँगै संस्था दर्ताका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष उत्तम अधिकारीले संस्थाका भावी कार्य योजनाका बारेमा जानकारी दिँदै छिट्टै नै ७ वटै प्रदेश र हरेक पालिकासम्म पुग्नेगरी काम गर्ने योजना रहेको बताए । कार्यक्रममा बोल्दै उनले भने हाम्रो योजना भनेको ७ वटै प्रदेश र सवै पालिकामा कुनै न कुनै रुपमा संरचना निर्माण गरी त्यसलाई तत् तत् प्रदेश र पालिकासँगको समन्वयमा स्थानीय तहमा नै अवसर सिर्जना गर्नु हो ।

कुनै पनि नेपाली वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यताको अन्त्य गर्नु आवश्यक रहेको औँल्याउँदै बैदेशिक रोजगारबाट फर्किनेहरुको संख्या बृद्धि हुँदै गएको हुँदा उनीहरुलाई राज्यले उचित व्यवस्थापन गर्ने नीति बनाउन ढिला गर्न नहुने बताए । अधिकारीले अगाडि बताए विदेशबाट हामीले केहि सीप, दक्षता र पूँजि लिएर फर्किएका छौं, त्यसलाई छरिन नदिई राज्यले एकत्रित गरी लगानी गर्ने वातावण निर्माण गरिदिनु पर्दछ ।

युएईमा रोजगारी गरेर फर्केका संस्थाका अध्यक्ष अधिकारीले बैदेशिक रोजगारमा हुँदासम्म नेपालीले कमाएर पठाउने विप्रेषणको सराहना गर्ने तर उनीहरु स्वदेशमा फर्किएपछि वेवास्ता गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखे । आफूहरुले गठन गरेको संस्था सामाजिक संस्था भएकाले यसले व्यवसाय गर्ने नभई बैदेशिक रोजगारमा जान ठिक्क परेकाहरुलाई निःशुल्क अभिमुखिकरण तालिम दिनेदेखि बैदेशिक रोजगार पश्चात फर्केर स्वदेशमा अलमलमा परेकाहरु र रोजगारको अभाव खेपिरहेकाहरुलाई रोजगारीसँग जोड्न सघाउने काम गर्ने प्रष्ट पारे ।

वैदेशिक रोजगारी छाडी नेपाल फर्किएका २ हजार ७ सय भन्दा बढी नेपालीहरु संस्थाको सम्पर्कमा आईसकेको बताउँदै ५१ सदस्यीय समन्वय समिति बनाएर अगाडि बढेको रिटर्नी माईग्रेण्ट नेपालले हाल १७ जनाको केन्द्रीय कार्यसमिति बनाएर संस्था दर्ता गरेको छ । सो संस्थाले मुलुकका सम्भावना भएका तर रुग्ण उद्योगहरु आफूहरुलाई चलाउन राज्यले सहयोग गरे आफूहरु ती उद्योगहरु चलाउन तयार रहेको र यसले ठूलो संख्यामा स्वदेशमा नै रोजगारी सिर्जना हुन सक्ने बताएको छ ।

राष्ट्रिय युवा परिषद नेपालको आयोजनामा गत असार २७ गते राजधानीको राष्ट्रिय सभागृहमा भएको राष्ट्रिय भेलामा बैदेशिक रोजगारबाट फर्केका झण्डै ८ सय व्यक्ति सहभागि थिए । सोही भेलाले संस्था दर्ताका लागि ५१ सदस्यीय समन्वय समिति गठन गरेको थियो । सोही समन्वय समितिको निर्देशन बमोजिम १७ सदस्यीय तदर्थ समिति बनाएर संस्था दर्ता गरिएको हो ।

संस्थाद्वारा जारी प्रेस विज्ञप्ती र केन्द्रीय कार्यसमितिको नामावलीः

बैदेशिक रोजगारबाट स्वदेश फर्केका नेपालीहरुको संस्था “रिटर्नी माइग्रेंट नेपाल”को स्थापनाको सन्दर्भमा

वैदेशिक रोजगारीमा रहँदा राज्यले उपलब्ध गराउने सबै सेवा सुविधाबाट बञ्चित रहँदै आएको वैदेशिक रोजगारमा संलग्न एउटा वर्ग जसले बिना स्वार्थ राष्ट्र निर्माणमा निरन्तर योगदान गरिरह्यो । राष्ट्र निर्माणमा यति ठूलो जिम्मेवारी बहन गरेको यो वर्ग स्वदेश फर्किएपछि विभिन्न कारणबस अलमलमा परिरहँदा पनि राज्यको कुनै ठोस नीति, कार्यक्रम वा योजनाको अभावले गर्दा बेरोजगार रहिरहनु परेको तथ्य उजागर छ ।

संख्यात्मक रुपमा पनि ओजिलो र बिकास निर्माणमा प्राविधिक ज्ञान, शिप,व्यवसायिक अनुभव तथा धेरथोर लगानीयोग्य पूंजीहासिल गरेर स्वदेश फर्किएका पूर्व प्रवासी नेपालीहरुको ठूलो समूह राज्यबाट चिनारी नहुदा एकातर्फ राष्ट्र निर्माणको मूल प्रवाहबाट बाहिर रहने र अर्को तर्फ यो समूहका व्यक्तिहरु अनुत्पादक शक्तिको रुपमा परिणत हुनुसक्ने हुनाले केहि न केहि दक्षता प्राप्त यो समूह स्वयं राष्ट्र र परिवार दुबै तहको बोझ हुनसक्ने कुरालाई नकार्न सकिन्न ।

ज्ञान, शिप, क्षमता र बहुसांस्कृतिक अनुभव हाँसिल गरेको यो समूहलाई राष्ट्र निर्माणको मूल प्रवाहमा ल्याई नेपाल सरकारले बोकेको “समृद्ध नेपाल सुखी नेपाली” भन्ने नारालाई सार्थक बनाउन देश बिकासमा सबै नेपालीले हातमा हात मिलाई अगाडी बढ्नु पर्छ भन्ने मान्यतालाइ आत्मसात गर्दै बैदेशिक रोजगारबाट स्वदेश फर्किएकाहरुलाई राज्यको नीति, कार्यक्रम र योजनासंग जोड्ने प्रस्थानविन्दुको रुपमा असार २७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा राष्ट्रिय युवा परिषदद्वारा आयोजित पूर्व प्रवासी श्रमिकहरुको राष्ट्रिय भेलाको आधारमा बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको संस्था “रिटर्नी माइग्रेंट नेपाल”को स्थापना गरिएको हो ।

संस्थाले उपरोक्त पृष्ठभूमिका आधारमा बैदेशिक रोजगारबाट फर्केका नेपालीहरुको हितका लागि देहाय बमोजिमका उद्देश्यहरु अघि सार्दै कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

१, बिभिन्न संघसंस्थासँग समन्वय गरि वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको सामाजिक हित संरक्षणको क्षेत्रमा काम गर्न सहयोग गर्ने पहल गर्ने ।

२, वैदेशिक रोजगारीबाट फर्किएकाकाहरुका हितका लागि सेवामूलक कार्यहरु संचालन गर्न पहल गर्ने ।

३, विभिन्न अभिमुखिकरण कार्यक्रम तथा सिपमुलक तालिमहरु संचालन गर्न पहल गर्ने ।

४, वैदेशिक रोजगारीबाट फर्किएकाहरुको हितका लागि राज्यसँग समन्वयकारी भूमिका निभाउने ।

५, सम्बन्धित निकायसंग समन्वय गरि राज्यले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई उपलब्ध गराउने सेवा, सुबिधा, सहुलियतका बारेमा सूचना उपलब्ध गराइ सहयोग पुर्याउने ।

६, लक्षित समूहको समुन्नतिको लागि ब्यबसायिक परामर्श प्रदान गर्ने ।

७, बैदेशिक रोजगारबाट फर्किएका अशक्त तथा असहायहरुको लागि कल्याणकारी कोष स्थापना गरि सहयोग उपलब्ध गराउन पहल गर्ने ।

८, वैदेशिक रोजगारीमा गएका नेपालीले सिकेका सीप, प्राप्त अनुभव, दक्षता र लगानीयोग्य पूँजिलाई स्थानीय र राष्ट्रिय स्तरमा उपयोग गरी समुन्नतिमा लगाउने नीति र कार्यक्रम निर्माणका लागि नियामक निकायसंग आवस्यक छलफल,गोष्ठी, परामर्श गरि लक्षित बर्गको हितमा काम गर्ने ।

संस्थाले उपरोक्त उद्देश्य परिपूर्तिका लागि निम्न बमोजिमका कार्यक्रमहरु तय गरेको छ

१, मुलुकको समृद्धिको अभियानलाई सफल पार्नको निमित्त बिस्वका सबै देशबाट स्वदेश फर्किएका पूर्व प्रवासी श्रमिकहरुलाई श्रमका लागि पुनस् विदेश जान रोक्ने स्पष्ट नीति निर्माण गर्नसरकारसंग समन्वय गरी आवस्यकता अनुसार ब्याबशायिक तालिम, शिप बिकाश कार्यक्रम, ब्यबस्थापकीय शिक्षा, बजार ब्यबस्थापन जस्ता बिषयमा निशुल्क अभिमुखीकरण तालिम प्रदान गर्नुका साथै आवस्यक सुबिधा र सहुलियतका साथ ब्यबशाय प्रवर्धनमा सहयोग गर्न पहल थाल्ने ।

२, विदेशबाट फर्किएका तर आफ्नै पूंजी लगानी गर्न नसकेर भौतारीइरहेका पूर्व प्रवासी श्रमिकलाई शिप र क्षमता अनुसारको रोजगारीको व्यवस्था गर्न निजि तथा सरकारी निकायसंग परामर्श गर्ने ।

३, स्वदेश फर्किएका श्रमिक मार्फत बिदेशमा नेपाली श्रमिकहरुले भोगिरहेका समस्यालाई शिक्षाको रुपमा लिएर सोहि प्रकृतिको रोजगारीमा जाने नयाँ कामदारलाई राज्यले जोखिममुक्त बनाउनेतर्फ सम्बन्धित क्षेत्रबाट फर्किएका श्रमिकलाई सहभागी गराई नीतिनिर्माण गर्न पहल गर्ने ।

४, बैदेशिक रोजगार बाट स्वदेश फर्केको समुह र राज्यको साझेदारीमा परियोजनाहरु संचालन गर्नका लागि सरकारसंग आवस्यक परामर्श थाल्ने ।

५, नेपाल सरकारको मातहतमा रहेका रुग्ण तथा बन्द उद्योगहरु संचालनका लागि बिशेष सहुलियत प्रदान गर्नेगरी बैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुलेलगानी गर्ने बातावरण निर्माण गर्न सम्बन्धित निकायसंग पहल गर्ने ।

६, प्रवासी श्रमिकहरुसंग सेवा प्रदायक क्षेत्रको अनुभव धेरै भएको हुँदा पर्यटन र पर्यटन प्रबर्द्धनसंग जोडिएका ब्यापार, ब्यबशायमा अग्रसर गराउनका लागि आवस्यक व्यवस्था मिलाउन सम्बन्धित निकायसंग पहल गर्ने ।

७, पुन विदेश नफर्किने गरी स्वदेश फर्किएका श्रमिकहरुको तथ्यांक संकलन गरी ती पूर्व प्रवासी श्रमिकको

हालको अवस्था पत्ता लगाई तिनले विदेशबाट सिकेको शिप र प्रबिधि मार्फत बिध्यमान प्रणालीको गुणस्तर वृद्धिका साथै राष्ट्र बिकासका खातिर उपयोग गर्न आवस्यक लगानी गर्ने बातावरण निर्माणका लागि राज्यसँग पहल गर्ने ।

८, विदेशबाट फर्केका प्रवासी श्रमिकलाई नियमित रुपमा बिभिन्न किसिमका शिपमुलक, ब्याबशायिक जानकारीहरु उपलब्ध गराइ सहज रुपमा स्थापित गराउनका निमित्त सरकारी स्तरबाट परामर्श केन्द्रको स्थापना गराउन भूमिका खेल्ने ।

९, आर्थिक बर्ष २०७५/०७६ को बजेटमा सम्बोधन भए बमोजिम “बैदेशिक रोजगारबाट फर्केकालाई परियोजनाका आधारमा रु १० लाखसम्म ऋण सुबिधा उपलब्ध गराईने” भनि माननीय अर्थमन्त्री ज्यूले गर्नुभएको घोषणा यथाशिघ्र कार्वान्वयन गराउन पहल गर्ने ।

हाम्रो संस्था “रिटर्नी माइग्रेंट नेपाल”ले माथि उल्लेखित उद्देश्य तथा कार्यक्रमहरु बैदेशिक रोजगारबाट फर्किसकेका र फर्कनेहरुलाई लक्षित गरी अगाडी सारेको छ । यी कार्यक्रमहरु कार्यान्वयन हुँदा बैदेशिक रोजगारबाट स्वदेश फर्केर अलमलमा रहेका, बेरोजगार रहेका र पुनः विदेशिने सोचमा रहेका ठुलो तप्कालाई स्वदेशमै स्थापित गराउनका साथै राज्यको समृद्धिको यात्रा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यदि त्यसो हुन नसकेमा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको वर्तमान अवस्थालाई जस्ताको तस्तै रहन दिइयो र यो वर्गको अवमूल्यन गरियो भने निकट भविष्यमा नै नेपाल फर्किन आतुर हाल वैदेशिक रोजगारमा रहेका करिब ३० लाख जनसंख्या नेपाल फर्किएपछि सिर्जना हुन सक्ने भयावह अवस्था नै राज्यका लागि सबैभन्दा ठूलो चिन्ताको विषय हुनेमा दुई मत नहोला । त्यतिमात्र होइन तिनै ३० लाख जनसंख्या र तिनीहरुमा आश्रित सिंगो ३० लाख परिवारको समस्या सम्बोधन गर्न तत्कालिन अवस्थामा राज्यलाई फलामको च्युरा चपाउनु सरह हुन सक्छ । त्यसैले यस विषयको गाम्भीर्यतालाई मध्यनजर गर्दै उक्त वर्गको समुचित सम्बोधनका लागि हाम्रो संस्था “रिटर्नी माइग्रेंट नेपाल” बैदेशिक रोजगारबाट फर्केका नेपालीहरुको आवाजको प्रतिनिधि संस्थाको रुपमा स्थापित संस्था भएकाले उनीहरुको समग्र पक्षलाई सम्बोधन गर्न यो संस्था प्रतिबद्ध छ ।

संस्थाका पदाधिकारी तथा सदस्यहरुको नामावली :

अध्यक्ष: श्री उत्तम अधिकारी

उपाध्यक्ष: श्री पुरन बहादुर आचार्य

महासचिव : श्री लक्ष्मी प्रसाद आचार्य

सचिव: श्री कृष्ण कुमार न्यौपाने

कोषाध्यक्ष : श्री काशीराम ढुंगाना

सदस्यहरु:

श्री अजिता ठकुरी

श्री गौरी पराजुली

श्री सिता भुर्तेल

श्री दामोदर नेपाल

श्री दिनेश कुमार लुइंटेल

श्री जाहर सिंह लामा

श्री ऋषिराम बस्याल

श्री शालिग्राम बस्याल

श्री रामसरण बानियाँ

श्री चन्द्र कुमार महतारा

श्री दिनेश आचार्य

श्री दामोदर दाहाल

Previous articleस्विट्जल्याण्डमा हरितालिका तीज तथा अन्तरक्रिया कार्यक्रम हुने
Next articleरिटर्नी माईग्रेण्ट नेपालको रक्तदान कार्यक्रम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here