पुष्पा खनाल,
कथाकार सविता श्रेष्ठ “बेहोसी”को नवीनतम कृति “सेतो स्कार्फ”(कथासङ्ग्रह) लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि-संस्कृतिविद् तुलसी दिवसले कृतिको लोकार्पण गरे । कथाकार बेहोसीले आफ्नो जन्मदिनको अवसर पारेर कृति लोकार्पण गरेकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथि दिवसले नेपाली समाज, पात्र, चिन्तन, सोच, संवेदना र आन्तरिक भावना व्यक्त भएका सिर्जनाहरुमात्र चिरस्थायी हुने बताउँदै कथाकार सविताका कथाहरुमा त्यो कुरा रहेको बताएका थिए ।
सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले आख्यानमा सविताले चालेका पाइलाहरुले साहित्य आकाशको उचाई मापन गरोस् भन्ने शुभकामना व्यक्त गरे ।

त्यसैगरी लोकार्पण कार्यक्रमका अध्यक्ष नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले सरल र शालीन व्यक्तित्वका धनी सविताका सिर्जनाहरु सशक्त हुने बताउँदै उनका कृतिहरुलाई पाठकमाझ ल्याउन पाएकोमा खुशी व्यक्त गरेका थिए ।

विशिष्ट अतिथि वरिष्ठ कथाकार माया ठकुरीले सविताको सिर्जनामा पाठकलाई बाँधेर राख्न सक्ने सरल र सरस प्रस्तृति रहेको बताएकी थिइन् भने वरिष्ठ स्रष्टा मोमिला जोशीले कृतिको समीक्षा गरेकी थिइन् ।  कृतिमाथि समीक्षा गर्दै उनले ः कृतिले आम मानिसहरुको जीवन बोलेको छ र कृतिकारको पनि जीवनलाई धेरथोर समेटेको छ भन्दै यस्ता सिर्जनाले मानिसहरुको मनलाइ छुन्छ र कालान्तरसम्म बाँचिरहन्छ भन्ने अभिव्यक्ति दिईन् ।

सर्जक सविता श्रेष्ठ “बेहोसी”ले जीवन भनेकै कथा र कथा भनेकै जीवन रहेको बताउँदै सेतो स्कार्फमा पनि जीवन र जगतलाई समेट्ने प्रयास गरेको बताईन् ।

सर्जकका जीवनसाथी सुमन श्रेष्ठले कृतिको लोकार्पणमा उपस्थित अतिथि र व्यक्तित्वहरुमा कृतज्ञता ज्ञापन गर्दै घरमा नै साहित्यकार भएकाले आफूमा पनि साहित्यप्रति अनुराग पलाएको बताएका थिए ।

नेपाल स्रष्टा समाजका महासचिव चेतनाथ कणेल हरितले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन नेपाल स्रष्टा समाजका कोषाध्यक्ष पुष्पा खनालले गरेकी थिइन् ।

नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ उन्नति बोहोरा शिला, प्राध्यापक माधवप्रसाद पोखरेल, वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, साहित्यकारहरु मोहन मायस्थ, गोविन्द गिरी प्रेरणा, मोहन दुवाल, गोपाल पराजुली, चन्द्रप्रसाद भट्टराई, भागीरथी श्रेष्ठ, इल्या भट्टराई, हिरण्यकुमारी पाठक, किशोर पहाडी, सुशीला देउजा, प्रद्युम्न जोशी, लक्ष्मी उप्रेती लगायतको उपस्थिति रहेको थियो । नेपाल स्रष्टा समाजले लोकार्पण कार्यक्रमको आयोजना गरेको हो ।
कथाकार बेहोसीका सेतोस्कार्फ लगायत आफ्नै व्यथा आफ्नै तरङ्ग(कथासङ्ग्रह) तथा अनन्तमा मिल्ने आशामा दुई समानान्तर रेखाहरु र जीवन ज्योति (उपन्यास) प्रकाशित छन् । यस कृतिमा वरिष्ठ कथाकार परशु प्रधानले भूमिका लेख्दै यसभित्र नेपाल र नेपालीको यथार्थ चित्रण रहेको उल्लेख गरेका छन् भने विमल भौकाजीले कृति सम्पादन गरेको उक्त कृति रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।

Previous articleभाषा शर्मा नासाको रोड सेफ्टी मिडिया अवार्डद्वारा सम्मानित
Next articleसमृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा युवा लाग्नुपर्छः मन्त्री विष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here