श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप, ज्ञान र क्षमतालाई सरकारले उपयोग गर्ने बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले यहाँ आज आयोजना गरेको ‘वैदेशिक रोजगारबाट फर्किएका युवाको राष्ट्रिय भेला’मा उहाँले भन्नुभयो, “वैदेशिक रोजगारबाट फर्किएका युवालाई नेपालको हितका लागि आफ्नो श्रम, सीप स्वदेशमा नै प्रयोग गर्नका लागि वातावरण बनाइने छ ।”

मन्त्री विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको क्षमता उपयोग गर्नका लागि पूँजीदेखि स्रोतसाधन परिचालन गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै फर्किएका युवाको श्रम सीपलाई प्रयोग गरेर सरकार अगाडि बढ्ने छ भन्नुभयो ।

“आफूले सिकेका सीप र ज्ञानलाई स्वदेशमै उपयोग गर्नका लागि सम्बन्धीत पक्षलाई आग्रह गर्दै उहाँले नेपालको विकास यहीका युवाबाट मात्र सम्भव भएकाले विदेशमा रहेका युवालाई पनि स्वदेशमा फर्कने वातावरण बनाउने दृढता व्यक्त गर्नुभयो ।

मन्त्री विष्टले सरकारले शुरु गरेको समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानलाई सफल बनाउनका लागि वैदेशिक रोजगारमा रहेका युवालाईसमेत आबद्ध गरिने बताउँदै विदेशवाट फर्किएका युवालाई श्रम राजदूतका रुपमा सरकारले परिचालन गर्ने धारणा व्यक्त गर्नुभयो ।

वैदेशिक रोजगारमा देखिएका समस्यालाई केही दिनमा नै सुधार गर्ने बताउँदै उहाँले अब केही वर्षभित्रै सीप सिकेका युवालाई मात्र वैदेशिक रोजगारमा पठाइनेछ भन्नुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत्बहादुर विश्वकर्माले समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई पूरा गर्ने अभिभरा युवाको काँधमा रहेको बताउनुभयो ।

“सरकार मुलुकलाई समृद्ध बनाउनका लागि दक्ष, सीप र ज्ञान भएका युवालाई अभियानमा कसरी सहभागी गराउने भन्नेमा छलफल चलाइरहेको छ”, उहाँले भन्नुभयो, “युुवालाई उद्यमशीलता, स्वावलम्बी र स्वरोजगार बनाउने हाम्रो योजना छ ।”

मन्त्री विश्वकर्माले हाम्रो सामाजिक वातावरणले युवालाई वैदेशिक रोजगारमा जान बाध्य तुल्याएको छ, भन्दै अब विदेश नभई स्वदेशमा नै आफ्नो श्रम लगाएर देश विकासमा युवा लाग्नुपर्नेमा जोड दिनुभयो ।

युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले युवालाई स्वरोजगार बनाउनका लागि न्यूनतम ब्याजमा ऋण प्रवाह गरिएको जानकारी दिनुभयो ।

सम्मेलनमा वैदेशिक रोजगारबाट फर्किएका युवा उत्तम अधिकारीले सरकारले लगानीको सुनिश्चिताको वातावरण बनाए आफूहरु कृषि, पर्यटन, जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको बताउनुभयो ।

उक्त कार्यक्रमको दोश्रो चरणमा बैदेशिक रोजगारबाट फर्केका युवाहरुको सञ्जाल राष्ट्रिय युवा उद्यमी सञ्जालका अध्यक्ष लोचन बस्नेतले उद्यमशीलतासँगै व्यवसायीकरण गर्नुपर्ने, अग्र्यानिक उत्पादनमा जोड दिएर विषादिविहिन भान्सा बनाउनुपर्ने, कृषि क्षेत्रमा व्यापक परिवर्तन गर्नुपर्ने तथा कृषिमा राज्यको लगानी कागजमा मात्र सिमित रहेकोले किसानको हितहुने तथा संरक्षणमा नीति निर्माणमा लाग्नुपर्ने बताएका थिए ।
त्यस्तै जापानबाट फर्किएकी जीवन अर्यालले विदेशमा बटुलेको अनुभव सुनाउँदै राज्यले विशेष गरेर विदेशबाट फर्किएका महिला दिदीबहिनीको हितमा कामगर्नुपर्ने बताएकी थिइन् ।

यएइबाट फर्किएर होटल व्यवसायमा लागेका दामोदर नेपालले स्वदेशमा रोजगारीको सिर्जना गर्नुपर्ने र विदेशमा कमाएको पुँजीलाई लगानी गर्ने बातावरण सरकारले निर्माण गर्नुपर्ने तथा सामुहिक लगानीको अवधारणा सरकारले ल्याउनुपर्ने बताएका थिए । उनले लगानीमैत्री वातावरण नभएको, सुशासन नभएको तथा व्यवसाय दर्ता गर्दा दुई महिना झुलाइदिने र दलाली लगाउँदा दुई दिनमै काम हुने जस्ता विकृतिको अन्त्य हुनुपर्ने बताए ।

साउदीबाट फर्किएका पत्रकार महेश श्रेष्ठले नेपालमा रोजगारी छैन भनेर नेपालीहरु विदेशी भूमिमा पसिना बगाउन गएका बेला देशको झण्डै २ करोड ६० लाख रोपनी जग्गा बाँझो रहेको बताए । उनले पाँचलाख अभिभावकहरुलाई सहाराको आवस्यकता परिरहेको बेला हाम्रा दिदीबहिनीहरु केयरगिभरको रुपमा इजरायल लगायतका देशमा काम गर्नजानु पर्ने बाध्यता रहेको बताए । उनले भूकम्पपछिको पुनर्निर्माणदेखि राष्ट्रिय गौरवको आयोजना निर्माणमा कामदार नभएकै कारण ढिला भइरहेको बताउँदै देश समाजवाद उन्मुख भनिएपनि देशमा पुँजीको विकास नभएको बताए ।
त्यस्तै दुवईबाट फर्किएर कुशल व्यवसाय तथा तालिम केन्द्र संचालन गरिरहेका सरोज कोइरालाले शिप विकास, रोजगारी र परामर्शका कामगर्दै आएको बताए । उनले कृषिमा व्यवसायीकरण गर्न आवस्यकीय ऋण तथा न्यून ब्याजदरको कार्यान्वयनमा जोड दिएका थिए ।

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा कोषका प्रतिनिधिले देशमा श्रमको सम्मान गर्ने संस्कृति नभएको बताउँदै पुर्ननिर्माणको क्षेत्रमा दैनिक १२५० दिँदा पनि कामदार नपाएको बताए । उनले युवाहरु अब आ–आफ्नै क्षेत्रमा बसेर जे सम्भावना छ त्यसमा व्यवसायीकता अपनाउनु पर्ने बताएका थिए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उद्यमशीलतलाई भन्सार लगायत विभिन्न क्षेत्रमा छुट दिइने नीति सरकारले तयार गरिरहेको बताए ।

त्यस्तै बैदेशिक रोजगार विभागका महानिर्देशक भुवन प्रसाद आचार्यले विदेश जाने युवाहरुको मात्र नभएर विदेशबाट फर्कने युवाहरुको पनि डाटा तयार गर्ने बताउदै सातै प्रदेशमा विभागका कामकारबाहीहरु सुरु गरेर युवाहरुलाई केन्द्रमा धाउनुपर्ने अवस्थाको अन्त्य गरिने बताए ।
त्यस्तै युवा तथा साना व्यवसायी स्वरोजगार कोषका अध्यक्षले विदेशबाट फर्किएर काममा लागिसकेका र लाग्ने सोच बनाएका युवालाई सम्मान सहित सहयोग गर्ने कार्यक्रम रहेको बताए । उनले बैदेशिक रोजगारबाट फर्किएका युवाहरुका लागि व्यवसाय गर्न विनाधितो १० लाख रुपैयाँ ५ प्रतिशत व्याजमा दिने बताए ।

उनले एक स्थानीय तह एक नमुना व्यवसाय सञ्चालन गर्नका लागि सामुहिक रुपमा १ करोड सम्म सरकारले लगानी गर्न सक्ने बताउँदै युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट १ लाख युवालाई रोजगारी सिर्जना गरिने समेत बताए ।

त्यस्तै कार्यक्रम आयोजक नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा परिषद्का उपाध्यक्ष तथा सभापति माधब ढुंगेलले एक महिनाको तयारीमा यति ठूलो कार्यक्रम गर्न सकिएको भन्दै सबैलाई धन्यवाद दिएका थिए ।

Previous articleकथाकार बेहोसीको “सेतो स्कार्फ” लोकार्पण
Next articleवैदेशिक रोजगारीबाट फर्किएका यूवाहरुको राष्ट्रिय सञ्जाल गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here