काठमाण्डौ – एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

‘स्काई पावरले ३ देखि ४ वर्षभित्र १ अर्ब अमेरिकी डलर लगानी गरेर ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको छ,’ उनले भने, ‘उनीहरूको लगानी प्रस्तावलाई सकारात्मक रूपमा लिँदै फास्ट ट्र्याकमार्फत लगानी स्वीकृत गर्ने प्रतिबद्धता हामीले जारी गरेका छौँ ।’

अमेरिकास्थित नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीले स्काई पावर ग्लोबल लिमिटेडलाई नेपालमा लगानी ल्याउने विषयमा समन्वय र सहजीकरण गरेका थिए । ‘हामीसँगका विभिन्न चरणको छलफलपछि कम्पनी नेपालमा ठूलो मात्रामा लगानी गर्न तयार भएको हो,’ हाल नेपालमै रहेका महावाणिज्यदूत मरासिनीले भने । अमेरिकाबाट नेपालमा यस स्तरको विदेशी लगानीको प्रतिबद्धता आउनु आफैँमा महत्वपूर्ण रहेको मरासिनीले बताए ।

स्काई पावर ग्लोबलका प्रमुख व्यावसायिक अधिकृत चाल्र्स कोहेन नेतृत्वको टोली र ऊर्जामन्त्री वर्षमान पुन नेतृत्वको टोलीबीच भएको बिहीबारको वार्तापछि लगानीको विषयमा टुंगो लागेको हो । नेपाली टोलीमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ, अमेरिकाको न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीलगायत थिए । कोहेनले अर्थमन्त्री डा. युवराज खतिवडा तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छुट्टाछुट्टै भेटेर लगानीका विषयमा कुरा गरिसकेको जानकारी मरासिनीले दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लगानीकर्ताको चासो सम्बोधन गर्दै फास्ट ट्र्याकका माध्यमबाट लगानी भित्र्याइने बताए । बिहीबार साँझ नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, ‘सौर्य ऊर्जामा लगानीका लागि उनीहरूले मुख्यतः चारवटा विषयमा चासो राखेका छन्– जग्गा, विद्युत् खरिदको दर, लोड सेन्टर र प्रसारण लाइन । यी चारैवटा विषयमा हामी करिब–करिब टुंगोमा पुगेका छौँ ।’ सौर्य ऊर्जाका लागि नेपाल विद्युत् प्राधिकरणले तय गरेको दर प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा कम्पनीसँग सहमति हुन सक्ने देखिएको जानकारी उनले दिए ।

Previous articleगोपालमान श्रेष्ठले आफूले पार्टी उपसभापतिमा दाबी नछाड्ने
Next articleअन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको तयारी पूरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here