काठमाण्डौ – कांग्रेस नेता गोपालमान श्रेष्ठले आफूले पार्टी उपसभापतिमा दाबी नछाड्ने बताएका छन्। सभापति हुन योग्य र सक्षम व्यक्तिले उपसभापतिमा दाबी गर्नुलाई अनौठो ठान्न नहुने उनको भनाइ छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

१५ वर्षअघि नै उपसभापति र कार्यबाहक सभापति भइसकेकाले अहिले उपसभापतिमा दाबी गर्नु स्वाभाविक भएको उनको भनाइ छ। ‘देउवाजीलाई १५ वर्षअगाडि तत्कालीन राजा ज्ञानेन्द्रले जेल हाल्दा कार्यबाहक सभापतिका रूपमा पार्टी चलाएको थिएँ,’ श्रेष्ठले भने, ‘अहिले उपसभापतिमा दाबी नगर्ने कुरै भएन।’

१३औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्दा देउवाले आफूलाई उपसभापति बनाउने आश्वासन दिएको श्रेष्ठको दाबी छ।

‘म सभापति भएपछि उपसभापति तपाईं हुने कुरामा शंकै नगर्नुस् भन्नुभएको थियो, उहाँले आफ्नो वचन पूरा गर्नुहुन्छ भन्ने विश्वास मलाई छ,’ श्रेष्ठले भने।

उपसभापति हुन पहल गरेका नेता खुमबहादुर खड्काले पनि अन्तिमतिर उपसभापतिमा आफ्नो नाम सिफारिस गरेको श्रेष्ठको भनाइ छ। ‘खुमबहादुरजीले पनि उपसभापतिमा दाबी गर्दै बन्ने पहल गर्नुभएकै हो। तर, आफू नबन्ने पक्का भएपछि उहाँले सभापति देउवासँग गोपालमानजीलाई बनाउने भए मेरो समर्थन रहन्छ भन्नुभएको हो,’ श्रेष्ठले भने, ‘केही दिनअघि खुमबहादुरजीको निधन भएपछि पार्टीले उहाँलाई पूर्वमहामन्त्रीको सम्मान दिएको छ। उहाँप्रतिको सम्मान साँचो हो भने मलाई उपसभापति बनाएर प्रतिबद्धता पूरा गर्नुपर्छ, होइन भने खुमबहादुरजस्ता नेताको आत्माले के भन्ला, त्यस विषयमा शेरबहादुरजीले पक्कै सोच्नुहोला।’

केही दिनअघि मात्र देउवाले आफूलाई महाधिवेशनअघि दिएको वचन सम्झाएको उनले बताए। ‘अस्ति मात्र देउवालाई भेटेर मैले महाधिवेशनअघिको वचन सम्झाएको छु,’ श्रेष्ठले भने, ‘हुन्न भन्नुभएको छैन, मैले आफ्नो दाबी छोड्ने कुरै भएन ।’

Previous articleसचिव सरुवामा मन्त्रीको हालिमुहालीमा ब्रेक लाग्ने
Next articleअमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here