काठमाण्डौ – ‘प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ बढी मत प्राप्त भएको छ। प्रधानमन्त्री नियुक्त भएको झन्डै एक महिनापछि ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन्’, अन्नपूर्ण पोस्टले समाचारमा लेखेको छ। समाचारमा ०१५ सालमा बीपी नेतृत्वको कांग्रेस सरकारपछि ५९ वर्षमा पहिलोपटक मुलुकले बलियो सरकार पाएको उल्लेख गरिएको छ।

०६२-६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहमतीय आधारमा प्रतिपक्षबिनाको प्रधानमन्त्री बनेका थिए। तर, चुनावी प्रतिस्पर्धापछिको पहिलो बलियो सरकारको नेतृत्व गर्ने मौका ओलीले पाएका छन्।

राष्ट्रपतिबाट मंसिर ३ मा नियुक्त ओलीले आइतबार संसद्मा विश्वासको मतका लागि प्रस्ताव गरेका थिए। संसद्मा मतविभाजन प्रक्रियाबाट गरिएको मतदानमा ओलीले ७५.६३ प्रतिशत मत पाएका हुन्। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ओलीका पक्षमा २ सय ८ मत परेको छ भने विपक्षमा जम्मा ६० मत परेको छ। सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए।

प्रमुख विपक्षी कांग्रेसले मात्रै ओलीको विपक्षमा मत हालेको थियो। नेमकिपाका प्रेम सुवाल भने तटस्थ बसे। वाम गठबन्धनका तर्फबाट प्रधानमन्त्री नियुक्त ओलीलाई मधेसकेन्द्रित राजपा नेपाल र संघीय समाजवादी फोरमले पनि समर्थन गरेका थिए। एमालेका १ सय २१, माओवादी केन्द्रका ५२ (एक जना सभामुखले मतदान नगरेको), राजपा १६ (रेशम चौधरी शपथ बाँकी), संघीय समाजवादी फोरम १६, राप्रपाका राजेन्द्र लिङदेन, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र स्वतन्त्र सांसद छक्कबहादुर मल्लले ओलीका पक्षमा मतदान गरेका थिए। ६३ जना सांसद रहेको प्रमुख विपक्षी कांग्रेसकै तीन जना सांसद मतदानमा अनुपस्थित थिए। नयाँ शक्तिका डा.बाबुराम भट्टराई पनि विदेशमा रहेकाले मतदानमा अनुपस्थित रहे।

Previous articleप्रदेश ४ को संसदमा आर्थिक कार्यविधि नियमावली तथा विधेयक पारित
Next article‘प्रि–सेन्सरसिप’ लगाए सडक आन्दोलनमा उत्रने महासंघको चेतावनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here