कार्तिक १३, २०७३- भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति माओवादी नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन् । 

आफ्नो दलका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले मुखर्जीका लागि बिदा घोषणा गर्नु अस्वाभाविक र अनुपयुक्त भएको टिप्पणी ट्वीटरमार्फत शुक्रबार सार्वजनिक गरेका हुन् । ‘भारतीय र चिनियाँ राष्ट्रपति नेपाल आउने बेला दिन लागिएको बिदा हास्यास्पद र गलत छ,’ श्रेष्ठले भनेका छन्, ‘चिनियाँ राष्ट्रपतिको भ्रमण मिति तय नभएको अवस्थामा अहिल्यै बिदा निर्णय लिनु त झनै हाँसो उठदो र अनावश्यक छैन र ?’ श्रेष्ठले भारतीय र चिनियाँ राष्ट्रपतिको भ्रमणले सम्बन्ध उचाइमा पुर्‍याउने भए पनि बिदा प्रस्ताव उचित नभएको तर्क गरेका हुन् ।

बिदा निर्णयको सर्वत्र विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले भने राष्ट्रपति विद्या भण्डारीसमेतको सहभागितामा शीतल निवासमा सम्पन्न बैठकमा सर्वदलीय छलफलपछि बिदा दिने निर्णय लिइएको प्रस्टीकरण दिएका छन् । ‘दलका प्रमुख नेताहरू पनि बैठकमा सहभागी हुनुहुन्थ्यो । छिमेकीप्रतिको सद्भाव र काठमाडौंको ट्राफिक व्यवस्थापन समेतलाई विचार गरेर एक दिन बिदा दिँदा राम्रो सन्देश जाने सल्लाहअनुसार मन्त्रिपरिषदबाट निर्णय भएको हो,’ विरोधपत्र बुझाउन बालुवाटार गएको संयुक्त विद्यार्थी मण्डलसँग शुक्रबार कुरा गर्दै दाहालले भने, ‘यो प्रस्ताव मेरो व्यक्तिगत भन्दै प्रचार भएको छ, गलत हो ।’

-इकान्तिपुर

Previous articleरक्षा मन्त्री खाँणलाई पेरिसमा एनआरएनए फ्रान्सले गरे स्वागत
Next articleसमय परिवर्तन हुने, बिहानको ३ बज्दा २ बज्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here