binayaडा. विनय श्रेष्ठ, उस्टर, स्विटजरल्याण्डमह जोडीको नाम सुन्दा मात्र पनि हाम्रो हृदयमा विशेष खालको तरङ्ग छाउँछ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाली कला जगतका शिखर पुरूष हुन् । यी शिखर पुरूषहरूप्रति नेपाली मनहरूको उच्च श्रद्धा र सम्मान रहेको छ । तिनै विशिष्ट पाहुनाहरूको युरोप र विशेषत: स्विटजरल्याण्ड आगमनको हामी स्वीट्जरल्याण्डबासी नेपालीहरू व्यग्रतापूर्वक प्रतिक्षारत छौं । मह जोडीलाई स्वागत गर्न आतुर र इच्छुक छौं । मह जोडीको फगत प्रख्यातिले मात्र युरोपको प्रवासी नेपाली समाजमा आकर्षण भएको होईन । वर्षौंदेखि नेपाली सामाजिक एवं राजनीतिक क्षेत्रको वस्तुगत विश्लेषण सहितको सटीक र व्यङ्ग्यपूर्ण प्रस्तुतिका कारणले मात्र पनि यो व्यग्रता उब्जिएको होईन। मह जोडीका शब्दहरु, हाउभाउ र कटाक्षमा म नेपाली आत्माहरुको भावना र चेतनाबोध पाउँछु। प्रवासबाट आफ्नै घरदेशबारे देखेको करूणादायी अवस्थाको प्रतिबिम्ब भेटाउँछु। त्यसैले हामी मह जोडीलाई स्विटजरल्याण्डमा स्वागत गर्न उत्कट उत्सुक छौं। मह जोडीको एक संक्षिप्त सामिप्यताले मात्रै भए पनि प्रवासका दुष्कर भोगाई र संघर्षहरुबाट क्षणिक विश्राम लिन लालयित छौं।

मह जोडीका अनेकन अविस्मरणीय प्रस्तुतिहरु छन्। तर मह जोडीको चर्चा हुँदा मैले झ्वाट्ट सम्झने गरेको प्रस्तुति भनेको हरिवंश आचार्यको “घाँस काटने खुर्केर, आयो जोबन हुर्केर, कसलाई दिउँ यो जोबन” बोलको गीत हो । पञ्चायत कालमा प्रकाशित जोडीकै व्यङ्ग्य क्यासेटहरूले पनि म त्यतिखेरै उहाँहरूको अनुरागी बनेको थिएँ । त्यतिखेर कै एक सन्दर्भमा, नेपालीहरुको प्रजातान्त्रिक अधिकार खोसिएको वर्षलाई २०१६ र २०१८ को बीचको साल भनि चित्रण गरिएको थियो । जुन म कहिल्यै भुल्न सक्दिन । सोझै २०१७ साल भन्दा कारवाही हुन्छ भनेर, उहाँहरूले त्यसरी चलाखीपूर्वक कार्यक्रम प्रस्तुत गर्नुहुन्थ्यो ।

त्यसैगरी, सन २००५ मा जुरीखमा सम्पन्न मह जोडीको कार्यक्रम पनि मेरो निम्ति अविस्मरणिय रहेको छ । कार्यक्रममा मैले एक कविता वाचन गर्ने सौभाग्य प्राप्त गरेको थिएँ। मह जोडीले मलाई ‘तालीबाटै थाहा पाइयो भाइको कविता कति राम्रो रहेछ’ भनेर श्रृजनात्मक कार्यका लागि हौसला दिनुभएको थियो । म जस्तै अरूलाई पनि उहाँहरूले रचनात्मक कामका निम्ति जुन प्रोत्साहन गर्नुभएको थियो त्यो मेरो मन-मस्तिष्कमा अमिट छाप बनि अंकित छ।

जीवन भनेको उकाली र ओरालीहरूको यात्रा हो । सारा नेपालीलाई हँसाई रहने, मनोरञ्जन दिलाइ रहने यी कलाकारहरुका व्यक्तिगत जीवनमा पीडादायी शोक परेका घटना हामीले सञ्चार माध्यमहरुबाट सुनेका छौं। तैपनि शोक र पीडाका उल्झनहरू पार गर्दै अनवरत श्रृजनाहरुका माध्यमबाट निरन्तर नेपालीहरुलाई सचेत र प्रसन्न गराउँदै मनोरञ्जन प्रदान गर्ने यी महान-कलाकार जोडीलाई मेरो हृदयदेखि नै सम्मान र सलाम । सदैव मह जोडीको कार्यक्रमको मजा लिन पाईयोस्। आउँदो २९ मेमा स्विटजरल्याण्डको राजधानी बेर्नमा गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डले मह जात्रा कार्यक्रमको आयोजना गरेको छ। आयोजकहरु र विशेषत: युरोपभरि मह जोडीको सहचारी गैर-आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदकी महिला सह-संयोजक रजनी प्रधानलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।

(लेखक गैर-आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य र पेशाले स्विटजरल्याण्डमा कार्यरत एक ‍र्‍याडियसन अंकोलोजिष्ट हुन्।)

Previous articleमह-जात्रा भव्य हुने
Next articleमह जात्रामा समयमै उपस्थित हुन एनआरएनएको अनुरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here