दमासकसको दक्षिणी क्षेत्रमा भएको उक्त विस्फोटमा ४५ जनाको ज्यान गएको छ भने १ सय भन्दा बढी मानिसहरु घाइते भएका छन्।

उक्त हमलाको जिम्मेवारी विद्रोही समूह इस्लामिक स्टेटले लिएको छ।

शिया मुस्लिमहरुले सैय्यदा जैनब मस्जिदलाई उच्च श्रद्धा साथ मान्ने गर्छन् जहाँ पैगम्बर मोहम्मदकी नातिनीको समाधि रहेको छ।

शान्तिवार्ता

सिरियामा जारी गृहयुद्धबारे राष्ट्रसंघको तत्वावधानमा स्वीटजरल्याण्डको जिनीभामा शान्तिवार्ताका लागि सिरिया सरकारको प्रतिनिधि मण्डल र प्रमुख विपक्षी गठबन्धन उपस्थित भएको बेला यो हमला भएको छ।

वार्ता बहिस्कार गर्ने धम्की दिएको भोलिपल्ट उक्त विपक्षी गठबन्धन जिनिभा पुगेको हो।

उसले आइतबार राष्ट्रसंघीय दूत स्टेफान डु मिस्टुरालाई भेट्ने कार्यक्रम छ।

सिरियामा भएको गृहयुद्धका क्रममा पाँच वर्षभित्र २ लाख ५० हजार मानिसको ज्यान गइसकेको छ भने करिब १ करोड १० लाख मानिसहरु घर छाडि भाग्न बाध्य भएका छन्।

साउदी समर्थित विपक्षी हाइ नेगोसियसन कमिसन (एचएनसी) ले शुक्रबार राति आफू जिनिभामा हुने शान्ति वार्ताका लागि उपस्थित हुन सहमति जनाएको थियो।

गठबन्धनले उक्त सहमति, सिरिया सरकारको टोलीले मिस्टुरासँग प्रारम्भिक छलफल गरेको केही घण्टापछि जनाएको थियो।

शान्तिवार्तामा सम्भावित युद्धविराम, कैदीहरुको रिहाइ, सबैभन्दा प्रभावित क्षेत्रमा सहायता पुर्याउने विषयमा छलफल गरिने बताइएको छ।

-बीबीसी नेपाली

Previous articleसुदूर पश्चिम सेवा समाज कतारको आयोजनामा बिबिध साँस्कृतिक र बनभोज कार्यक्रम
Next articleप्रधानसेनापति क्षत्री सोमबार भारत जाँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here