क्याल्गरीको स्थानीय सिल्भर स्प्रिंग सामुदायिक हलमा एक बिशेष समारोहका साथ ल्होसार तथा अंग्रेजी नया वर्ष कार्यक्रम सम्पन्न भयो।

क्यालगेरी नेपाली कम्युनिटी  एसोसिएसन  (सी एन सी ए ) द्वारा संचालित नेपाली स्कुलका बालबालिकाहरुले  नेपाली तथा क्यानेडियन राष्ट्रिय गीत गाएर  सुरु भएको कार्यक्रममा  सीएनसीएका अध्यक्ष प्रसन्नमान श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई आयोजकको तर्फबाट स्वागत गर्नुभएको थियो। 
कार्यक्रम संयोजक  प्रेमचन्द्र गुरुङले  हामी  नेपालीहरु संसारको  जुन कुनामा गए पनि आफ्नो  संस्कृति हामी संगै लिएर जाने हुँदा हामीसंगै  सांस्कृतिक रुपमा नेपाल मनमनमा रहन्छ यसैले हामी  हाम्रा  सांस्कृतिक पर्वहरुलाई  महत्वका साथ मनाउञ्छौ भन्नुभयो। गुरुंगका अनुसार नेपालमा गुरुङ, थकाली, तामांग र शेर्पा समुदायले  नया बर्षको रुपमा ल्होसार मनाउने चलन रहेको र  ’ल्हो’ अर्थात् वर्ष बाह्रवटा भएको विश्वास   गरिन्छ।  बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ। यस वर्ष  बाँदर वर्ष परेको छ। नेपालमा विभिन्न समुदाय वीच चार वटा ल्होसार मनाउने चलन भए पनि क्याल्गरीमा  भने  अंग्रेजी नया बर्षसंगै ल्होसारलाइ  “नेपालीको मौलिकता : विविधतामा  एकता ” भन्ने मूल सन्देशका साथ सन् २०१० देखि समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वको रुपमा मनाइदै आएको छ।
कार्यक्रममा  क्याल्गरीमा नेपाली समुदायमा करिव डेढ दशकदेखि सामाजिक सेवामा समर्पित समाजसेवी ध्रुब राइलाइ उहाले समुदायमा पुर्याएको योगदान खास गरी नेपालको प्रलयकारी भूकम्पको समयमा क्याल्गरीमा आर्थिक संकलन र नेपाली समुदायवीच समन्वय कायम  गर्न खेल्नुभएको भूमिकाको कदर गर्दै खादा र   सम्मानपत्र सहित सम्मान गरिएको थियो । सी एन सी ए का महासचिव ऋषि  बस्ताकोटीले कार्यक्रममा ध्रुब राइको सामाजिक व्यक्तित्वबारे प्रकास पार्दै सम्मानपत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।  यस वर्ष विश्वविद्यालय  तथा अन्य प्राविधिक तालिम संस्थाबाट अध्ययन पूरा गरेका  समुदायका आठ जना सदस्यहरूलाई र नेपालमा भूकम्पको विपद परेको बखत संस्थामार्फत आर्थिक सहयोग गर्ने महानुभावहरूलाई पनि कार्यक्रममा  खादा दिएर सम्मान गरिएको थियो।
कार्यक्रममा स्थानीय कलाकारहरूले गीत , नृत्य,  मुक्तक र कविता समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा
क्याल्गरीबासी नेपालीहरूको  व्यापक उपस्थितिमा शुभकामना आदानप्रदान र रात्रि भोज समेत गरिएको थियो।

-ऋषी बास्ताकोटी

CNCA_Dhruba cnca 3 IMG_1628

Previous articleएन. आर. एन. ए. का प्रमुख संरक्षक जिवा लामिछाने ल्होसार कार्यक्रममा सहभागी हुने
Next articleतमु परिवार स्विटजरल्याण्डकी संयोजक युक्ता गुरुङको अनुरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here