यस जिल्ला चिसोबाट मृत्यु हुने भूकम्प प्रभावित वृद्धवृद्धाको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेको छ । विभिन्न गाविसमा गरी आज थप पाँच जनाको चिसोका कारण मृत्यु भएको छ । 

भूकम्पले घर भत्किएपछि जस्ताको टहरा र पालमा बस्दै आएका वृद्धवृद्धा चिसोका कारण बिरामी पर्ने र मृत्यु हुने क्रम पछिल्ला दिन बढ्दै गएको छ । 

पछिल्लो तथ्याङ्कअनुसार दोलखा चङ्खु गाविस–७ की ५५ वर्षीय मिठ्ठु तामाङ, लापिलाङ–३ का ७३ वर्षीय गम्भीर थामी, पवटी–५ का ५८ वर्षीय बमबहादुर तामाङ, शैलुङ्गेश्वर–५ का ८२ वर्षीय देवकुमारी कार्की र कालिञ्चोक–१ की ६६ वर्षीय सानुमाया थामीको चिसोका कारण बिरामी परी मृत्यु भएको हो । 

यसअघि भूकम्पले घर भत्किए पछि जस्ताको टहरामा बस्दै आएका मेलुङ–८ का ६८ वर्षीय विष्णुमाया श्रेष्ठ र ७० वर्षीय जगतबहादुर श्रेष्ठ, दोलखा डाँडाखर्क– ८ का ९५ वर्षीय धनराज तामाङ, झुले गाविस–७ का ८६ वर्षीय लालबहादुर कार्की, झुले गाविस–४ का ८३ वर्षीय जानुका कार्की, गैरीमुदी गाविसका ६८ वर्षीय लालबहादुर तामाङ, बुलुङ गाविस–८ का ६२ वर्षीय भक्तबहादुर मगर र जफे गाविस–१ का ७९ वर्षीय भद्रकुमारी पोखरेलको चिसोका कारण मृत्यु भएको स्थानीयवासीले बताएका थिए । 

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले दोलखाको केही गाविसमा वृद्धवृद्धाको मृत्यु भएको जानकारी आएको भए पनि चिसोकै कारण मृत्यु भएको हो भने तथ्य प्रमाणित भइनसकेको बताए ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख माधव लम्सालले दोलखाको विभिन्न ठाउँमा मृत्यु भएका मानिस चिसोको कारणभन्दा पनि दम, मिर्गौला जस्ता समस्याले पीडित रहेको बुझिएको बताए। मृत्यु भएका अधिकांश दीर्घरोगी भएको उनको भनाइ छ । 

 भूकम्पले घर भत्किए पछि टहरामा बसेका बिरामी, वृद्धवृद्धा, बालबालिकाले स्वास्थ्यमा कुनै समस्या भए तत्काल स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न र तातो कपडा लगाएर बस्न उनले सुझाव दिएका छन् । मृत्यु हुनेहरुको सङ्ख्या बढेर सरोकारवालामाथि चुनौती थपिएको नागरिक समाज दोलखाका अध्यक्ष चिरञ्जीवी मास्के बताउछन् । 

सरकारले भूकम्प प्रभावित जिल्लामा राहत तथा पुनःस्थापनाको काम प्रभावकारी ढङ्गले अगाडि बढाउन नसक्दा घरवारविहीन बनेका पीडित धमाधम बिरामीसमेत पर्न थालेका छन् । स्थानीय विकास अधिकारी सीता परियारका अनुसार दोलखाका भूकम्पपीडितलाई न्यानो कपडाका लागि सरकारले दिने भनेको १० हजार वितरण सुरु गरिएको छ । 

जिल्लाको भूकम्पपीडितको सङ्ख्याको हिसाबले  ८५ करोड ८५ लाख ८० हजार आवश्यक पर्नेमा अहिले  ५० करोडमात्र प्राप्त भएको पनि उनले जानकारी दिए। रासस

Previous articleयुवाहरु भारततिर, बझाङका गाउँ खाली
Next articleल्होसार कार्यक्रममा कुमार पन्त र अर्जुन कुमार श्रेष्ठ स्विट्जरल्याण्ड आउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here