द्रोण रिजाल, नेदरल्याण्ड। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को शाखा सिक्किममा पनि गठन भएको छ। नेपाली चलचित्रका नायक र सिक्किम चलचित्र बोर्डका अध्यक्ष उत्तम प्रधानको अध्यक्षतामा गठन गरि अनुमोदनको लागि पठाएको नौ सदस्यीय कार्य समितिलाई इनासको ग्लोबल समितिको बैठकले अनुमोदन गरे पछि विधिवत रुपमा इनास सिक्किम गठन भएको हो। नव गठित ईनास सिक्किम समितिको अन्य सदस्यहरुमा संगीता प्रधान उपाध्यक्ष, समिर गजमेर महासचिव, नारायण दास शिल्स कोषाध्यक्ष रहेका छन् भने अभिनेत्री रन्जु लामिछाने, दिपक ढकाल, राकेश सिन्चुरी, अर्जुन चापागाईं, जगत गुरुङ कार्यकारी सदस्य रहेका छन्। त्यस्तै हरि ढुंगेल र टिकामाया गुरुङलाई समितिको सल्लाहाकारमा चुनिएका छन्। 

यस अघिनै विभिन्न महादेशहरुमा ५७औ शाखाहरु बिस्तार गरेर गैर-आवासीय नेपाली संघपछिको दोश्रो ठूलो नेपालीहरुको संस्थाको रुपमा आफूलाई उभ्याएको प्रवासमा बस्ने कलाकारहरुको विश्वव्यापि संजाल यस संस्थाले भारतका विभिन्न राज्यमा रहेका नेपाली कलाकार र साहित्यकारहरुलाई समेटेर अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) भारत केन्द्रिय समिति गठन गर्ने प्रयास स्वरुप यसअघि नै दिल्लीमा यस संस्थाको शाखा बिस्तार गरिसकेको र सोहि सिलसिलामा नेपाली कला, साहित्य र संस्कृतिको प्रचुरता रहेको सिक्किममा समेत तदर्थ समितिको रुपमा अनुमोदन गरिएको इनासले जनाएको छ। त्यस्तै नेपालीहरुको उच्च वाहुल्यता रहेको दार्जिलिङ्ग, आसाम, महाराष्ट्र, अरुणाचल प्रदेश र  मेघालयमा रहेका नेपाली कलाकार तथा साहित्यकारहरुले ईनासमा आवद्ध भएर काम गर्न उत्साह देखाई अनुमोदनको लागि पठाएको राज्य समिति (स्टेट कमिटी) हरुलाई संस्थाको भारत केन्द्रिय समिति अन्तर्गत रहने गरि अनुमोदन गर्ने प्रकृया अन्तिम चरणमा पुगेको समेत ईनासले जनाएको छ।

Previous articleस्विट्जरल्याण्डको संघीय मन्त्री परिषदको निर्वाचन
Next articleजय प्रशाद सुवेदीको उपचारका लागि सहयोग संकलन शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here