२८ भदौ, काठमाडौं । गैरआवासीय नेपालीहरुले राजनीतिक अधिकार बाहेकको गैरआवासीय नागरिकता पाउने निश्चित भएको छ ।

सविधानसभाले सोमबार नयाँ संविधानको परिमार्जित विधेयकको ५७ धारा पास गरेको छ । जसमा गैरआवासीय नेपाली नागरिकतासँग सम्बन्धित धारा पनि छ । पारित प्राबधानअनुसार गैरआवासीय नेपालीले अब संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता पाउनेछन् ।

संविधानसभाले पारित गरेको संविधान विधेयकको धारा १४ मा भनिएको छ-‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेका दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेका देशमा बसोबास गरेका साबिकमा वंशजको वा जन्मको अधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ ।’

गैरआवासीय नेपाली संघले लामो समयदेखि बिदेशी नागरिकता लिइसकेका नेपाली मुलका गैरआवासीय नेपालीहरुको सीप र पूँजी नेपाल आर्कषिर्त गर्न उनीहरुलाई नागरिकता दिनुपर्ने माग गर्दै आएको थियो ।

संघका अध्यक्ष शेष घलेले नेतृत्व लिएसँगै गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने बिषयमा लविङ तिब्र बनाएका थिए । राजनीतिक अधिकारसहितको कि राजनीतिक अधिकार विनाको नागरिकता भन्ने बिषयमा संघभित्र केही बिबाद देखिएपनि संघको नेतृत्वले राजनीतिक अधिकार विनाकै नागरिकताका लागि लविङ गरेको थियो ।

‘यो निश्चय पनि हाम्रा लागि सवैभन्दा खुसीको दिन हो’ एनआरएन अध्यक्ष शेष घलेले अनलाइनखबरसँग न्यूयोर्कबाट कुरा गर्दै भने-‘यसलाई सफल बनाउन संविधानसभाभित्र र बाहिर रहेर भूमिका खेल्नुहुने  सवै सभासद्ज्यूहरु र राजनीतिक दलको नेतृत्वप्रति सम्पूर्ण गैरआवासीय नेपालीका तर्फबाट म आभार ब्यक्त गर्दछु ।’

अध्यक्ष घलेले संविधान जारी हुने दिन अर्थात् असोज ३ गतेको दिन ब्यग्रतापूर्वक प्रतिक्षा गरिरहेको बताए । गैरआवासीय नेपाली नागरिकताको प्राबधान राखेर जारी भएको सो संविधानका लागि एनआरएन आतुर रहेको उनले बताए । ‘यो दिनका लागि हामीले दशौं बर्षदेखि प्रतिक्षा गरिरहेका छौं, घलेले भने- हाम्रो मागलाई विश्वास गरेर नेपालका राजनीतिक दल र संविधानसभाले हामीलाई ठूलो जिम्मेवारी सम्पेको छ, अब हामीले आफ्नो प्रतिबद्धता पुरा गर्ने बेला आएको छ।’

नयां संबिधानमा एनआरएन नागरिकता समावेश हुनु गैरआवासीय नेपालीका लागि खुसीको बिषय नभई मुलुक राजनीतिक स्थायित्वमार्फत् आर्थिक सम्बृद्धिको मार्गमा लाग्ने र त्यसमा गैरआवासीय नेपालीले साझेदारी गर्न पाउने भएकाले पनि नयां संबिधान आउने दिनको ब्यग्र प्रतिक्षा रहेको उनले बताए ।

नागरिकता प्राप्त गरेपछि बिदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीहरुले अब नेपालमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नागरिकता पाउनेछन् । यसले दोस्रो वा तेस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपाल आवतजावत गर्न र नेपालमा लगानी गर्न बाटो खुला गर्ने छ ।

ब्रिटिस नागरिकता लिएका गोरखा सैनिकले नपाउने

ब्रिटिस नागरिकता सहित ब्रिटिस सेनामा कार्यरत गोरखा सैनिकहरुले भने नेपाली नागरिकता नपाउने भएका छन् । संविधानसभाले ब्रिटिस नागरिकता सहित ब्रिटिश सेनामा कार्यरत नेपालीलाई पनि नागरिकता दिनुपर्ने संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो ।

सभासद रामकुमार राईले दर्ता गराएको ब्रिटिस नागरिकता सहित ब्रिटिस सेनामा कार्यरत नेपालीलाई पनि नागरिकता दिनुपर्ने संशोधन राखेका थिए ।

तर, ब्रिटिस सेनामा भर्ती भएर पनि नेपाली नागरिकता नत्यागेका गोरखा सैनिकहरुको हकमा यो लागु हुने छैन ।

-अनलाईन खबर

Previous articleअसोज ३ मा नयाँ संविधान
Next articleगैर-आवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषदको निर्वाचन सम्बनधमा जानकारी र सूचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here